दाउन्नेमा गाडी फस्दा ४५ किलोमिटर लामो जाम

असार ४, २०८२

नारायण शर्मा

A 45-km long traffic jam when a vehicle got stuck in Daune

नवलपरासी — गएरातिको वर्षापछि हिलाम्य भएर गाडी फसेका कारण यहाँ ४५ किलोमिटर लामो जाम भएको छ। गएराति २ बजेबाट दाउन्नेको हिलोमा फसेको गाडी निकाल्न नसक्दा त्यहाँ रोकिएका गाडीको जाम ४५ किलोमिटर टाढासम्म पुगेको छ। लगातार १३ घण्टादेखि महेन्द्र राजमार्ग हुँदै पूर्व-पश्चिम हिँडेका गाडी यहाँ रोकिएका छन्।

महेन्द्र राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भुताहादेखि पूर्वी नवलपरासीको चोरामारासम्मको क्षेत्रमा ४५ किलोमिटर लामो जाम छ। दाउन्नेमा एम्बुलेन्स समेत संचालन हुन सक्ने अवस्था छैन।

काठमाडौँबाट धनगढी हिँडेका मोहनदेव नाथले आफू परिवार र बच्चा सहित दुम्कीवासमा गएराति २ बजेदेखि फसेको सुनाए । 'यहाँ सरकार नै छैन, सरकार भएको देश यस्तो हुन्छ? राजमार्गमा हेर्नुस् त यात्रुको बिजोग,' उनले भने, 'म यहाँ होटल लिएर बसेको छु । दाउन्ने सडक खण्डको यस्तो दुर्दशा भएको ७ वर्ष भयो खै सरकार ? यात्रुहरूले राजमार्गमा टायर बालेर प्रदर्शन गर्नपर्ने भयो।' 

A 45-km long traffic jam when a vehicle got stuck in Daune

गएराति परेको वर्षाका कारण दाउन्ने सडक हिलाम्य हुँदा त्यहाँ गाडी फसेका छन् । चर्को घाम लागेर राजमार्ग नसुकुन्जेल जाम हटाउन सक्ने स्थिति छैन । दुम्कीवासबाट ३ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलमा फसेका मालबहाक गाडी बुधबार दिउँसो सवा ३ बजेसम्म निस्कन सकेको छैन।

यता दुम्कीवासस्थित विनयी खोलामा गएराति बगाएको डाइभर्सन निर्माण हुन नसक्दा त्यहाँदेखि चोरमारासम्म लामो जाम छ । जिल्ला प्रहरी प्रमुख यादव ढकालले दाउन्ने पहाडमा जाम नहोस् भनेर ठाउँठाउँमा प्रहरी राखेर पूर्वी र पश्चिम नवलपरासीका विभिन्न स्थानमा गाडी रोकिदिएको जानकारी दिए।

A 45-km long traffic jam when a vehicle got stuck in Daune

दाउन्नेमा बाटो खुल्नासाथ साना गाडी र यात्रुबहाक बसलाई पहिला प्राथमिकतामा राखेर यातायात सन्चालन गर्ने चेष्टा गरेको ढकालले जानकारी दिए । पूर्व पश्चिम हिँडेका सबै मालबहाक र रित्ता ट्रक प्रहरीले दाउन्ने खण्डमा जाममा नपरून् भनेर प्रहरीले रोकेको हो।

राजमार्गमा गाडीले नउछिनुन् भनेर पूर्वी नवलपरासीका ठाउठाउमा ७७ जना प्रहरी राजमार्गमा खटाइएको ढकालले जानकारी दिए। दुम्कीवास स्थित विनयी खोलामा बगाएको डाइभर्सन सडकले निर्माण गरिरहेको छ। बिनयीखोलाको बाढीमा जति ग्राभेल हालेर डाइभर्सन ( अस्थायी सडक ) निर्माण गर्न खोज्दा पनि बगाएर हैरान छ ।

विनयी खोलामा निर्माण गरिने डाइभर्सन सानो बाढी आउना साथ बगाउँछ । खोलाको वेग बढी भएका कारण त्यहाँ निर्माण गरिने डाइभर्सन मंगलबारसम्म ७ पटक बगाइसकेको छ। ६ महिनाअघि दुम्कीवासस्थित विनयी खोलामा रहेको फलामे पुलमा गह्रुँगो मालबहाक ट्रक आउँदा भाँच्चिएपछि त्यहाँ डाइभर्सन गरेर महेन्द्र राजमार्गको यातायात सुचारु भइरहेको छ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully