बाढीले डाइभर्सन बगाउँदा र दाउन्नेको हिलोमा गाडी फस्दा ५० किमि जाम

असार ४, २०८२

नारायण शर्मा

50 km jam when the flood washes away the diversion and the vehicle gets stuck in the mud at Daunne

दाउन्ने, नवलपरासी — मंगलबार रातिको वर्षापछि दाउन्नेको हिलोमा गाडी फस्दा र दुम्कीवासमा विनयी खोलाले डाइभर्सन बगाउँदा करिब ५० किलोमिटर लामो जाम भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भुताहादेखि पूर्वी नवलपरासीको डन्डासम्म जाम भएको हो ।

दुम्कीवासबाट ३ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा मन्दिरनजिक निर्माणाधीन पुलमा फसेको मालबाहक गाडी बुधबार साँझसम्म पनि निकाल्न सकिएको छैन । यता दुम्कीवासस्थित विनयी खोलाले मंगलबार राति बगाएको डाइभर्सन मर्मत हुन नसक्दा चोरमारासम्म लामो जाम छ । यो सडकखण्डमा दैनिक साना ठूला गरी करिब १५ देखि १८ हजार गाडी सञ्चालन हुने गरेका छन् ।

काठमाडौंबाट धनगढी हिँडेका मोहनदेव नाथले बच्चासहित दुम्कीवासमा गए राति २ बजेदेखि फसेको बताए । ‘राजमार्गमा हेर्नुस् त यात्रुको बिजोग । दाउन्ने सडक खण्डको यस्तो दुर्दशा भएको वर्षौं भयो, खै सरकार ? यात्रुहरुले राजमार्गमा प्रदर्शन नै गर्नुपर्ने हो ?’ उनको प्रश्न थियो । पोखराबाट बुटवल हिँडेका रमाकान्त पराजुली बालबच्चासहित १७ घण्टादेखि जाममा परेको सुनाए । ‘गाडी हिँड्दै हिँड्दैन, बिरामी भैइएलाझैं भइसक्यो,’ उनले भने, ‘बालबच्चाको बिजोग भयो, यस्तो चर्को घाम छ । यहाँ त यात्रुले जुलुस निकाल्ने बेला भइसक्यो ।’

जिल्ला प्रहरी प्रमुख यादव ढकालले दाउन्नेमा जाम नहोस् भनेर ठाउँठाउँमा प्रहरी राखेर पूर्वी र पश्चिम नवलपरासीका विभिन्न स्थानमा गाडी रोकिएको बताए । ‘दाउन्नेमा बाटो खुल्नासाथ साना गाडी र यात्रुबाहक बसलाई प्राथमिकतामा राखेर यातायात सञ्चालन गर्ने तयारी छ,’ उनले भने ।

विनयी खोलाले बगाएको डाइभर्सन पुनर्निर्माण गरिरहेको सडक विभागले जानकारी दिएको छ । सामान्य पानी पर्दा विनयी खोलामा आउने भेलले ग्राभेल हालेर बनाइएको डाइभर्सन बगाउने गरेको छ । विनयी खोलामा रहेको फलामे पुल ६ महिनाअघि भाँच्चिएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन भइरहेको छ । असार २२ देखि नयाँ पुलबाट यातायात चलाउन सकिने डिभिजन सडक कार्यालय चितवनले जनाएको छ ।

बुटवल–नारायणगढ सडक विस्तार सुरु भएदेखि नै दाउन्ने खण्डमा आवागमनमा समस्या छ । घुमाउरो र पहाडी भागमा पर्ने दाउन्नेका पुरानो पक्की सडक भत्काएर छोडिएको छ । राजमार्ग खनिएका कारण धुलाम्मे छ । त्यो धूलोमा सामान्य वर्षा हुनासाथ २–३ फिटसम्मको हिलो जम्ने गरेको छ । गाडी हिलोमा फस्ने गरेका कारण त्यहाँ दिनहुँजसो घण्टौं जाम हुने गरेको छ ।

गैंडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किमि र दाउन्ने–बुटवल दोस्रो खण्ड ४९ किमि विस्तारका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले चैत २०७५ मा १६ अर्ब ९९ करोडमा रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौताअनुसार साउन ०७९ भित्र काम सकिनुपर्थ्यो । तर कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक ११ साउन ०८० सम्म म्याद थपिएको थियो । त्यसपछि पनि दुई पटक म्याद थपेर ८ साउन ०८२ सम्म पुर्‍याइएको छ । तर म्याद सकिन करिब एक महिना बाँकी हुँदा पनि काम सकिने छाँटकाँट छैन । निर्माण सकिएपछि पनि ५ वर्षसम्म ठेक्का लिने व्यवसायीले नै सडकको मर्मत सम्भार गर्नुपर्ने सम्झौता छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully