आज देश-दुनियाँमा के-के भयो ?

असार ३, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — १० महिनामा ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह, लक्ष्यको आधा मात्र, नेपालमा अकाल मृत्यु र अपांगताको मूल कारक वायु प्रदूषण : विश्व बैंक, यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतमविरुद्ध भ्रष्टाचार मुद्दा, अढाइ करोड रुपैयाँ बिगो मागदाबी, आफैं उद्धार गर्नेदेखि भारत र चीनसँग सहयोग माग्नेसम्म सरकारको तयारीदेखि प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगितसम्मका खबर आज चर्चामा रहे ।

००००

चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असारको तुलनामा यो ७.३ र गत आर्थिक वर्षको वैशाखसम्मको तुलनामा ८.४ प्रतिशतको वृद्धि हो । 

००००

कुपोषण र सुर्तीजन्य पदार्थभन्दा वायु प्रदूषणको जोखिम नेपालमा उच्च रहेको छ । म‌ंगलबार विश्व बैंक समूहले सार्वजनिक गरेको ‘टुवार्ड्स क्लिन एयर इन नेपाल: बेनेफिट्स, पोलुसन सोर्सेस, एन्ड सोल्युसन्स’ नामक प्रतिवेदनअनुसार वायु प्रदूषणले नेपालीहरूको औसत आयू ३.४ वर्षले घटाउने र वार्षिक करिब २६ हजारको अकाल मृत्युको कारण बनिरहेको छ । 

००००

गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

००००

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इरान र इजरायलबीचको युद्ध झन् चर्किँदै गएपछि मध्यपूर्व क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षित राख्नेदेखि उद्धार गर्नेसम्मको योजना बनाएको छ । श्रम सचिव कृष्णहरि पुष्करको अध्यक्षतामा परराष्ट्र, गृह, पर्यटन, कानुन तथा संसदीय समिति र सरोकारवाला सहितको आपत्कालीन बैठकले मध्यपूर्वमा रहेका नेपाली श्रमिकलाई सुरक्षित रूपमा राख्नेदेखि उद्धार गर्ने कार्ययोजना बनाएको हो ।  

००००

भिजिट भिसा र अध्यागमनमा भएको अनियमितताको विषयमा छानबिन गर्ने विषयमा सहमति जुटन नसक्दा आज पनि प्रतिनिधीसभाको बैठक प्रभावित भएको छ । सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई संसद्को अवरोध हटाउनका लागि सहमति गर्न भनेर बैठक बिहीबारसम्मका लागि स्थगित गरेका छन् ।  

कान्तिपुर

Link copied successfully