गत आर्थिक वर्षको वैशाखसम्मको तुलनामा कर्जा प्रवाहमा ८.४ प्रतिशतको वृद्धि
काठमाडौँ — चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असारको तुलनामा यो ७.३ र गत आर्थिक वर्षको वैशाखसम्मको तुलनामा ८.४ प्रतिशतको वृद्धि हो ।
चालु आर्थिक वर्षमा राष्ट्र बैंकले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ । उक्त लक्ष्य पूरा गर्न यस वर्ष बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा विस्तार गर्नुपर्छ । तर गत वैशाखसम्म बैंकहरूले प्रवाह गरेको कर्जा लक्ष्यभन्दा ३ खर्ब १४ अर्ब रुपैयाँले कम हो । यद्यपि राष्ट्र बैंकले तय गरेको लक्ष्य प्राप्तिका लागि बाँकी २ महिनामा बैंकहरूले करिब सवा ३ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्नुपर्छ, जुन सम्भव नभएको जानकार बताउँछन् ।
‘गत वर्ष साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको राष्ट्र बैंकले यस वर्षका लागि साढे १२ प्रतिशतको लक्ष्य तय गर्यो, यो आफैंमा महत्त्वाकांक्षी थियो । किनकि गत असारमा पनि राम्रोसँग कर्जा विस्तार हुने आधार तयार भइसकेको थिएन,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘यो वर्षभर लगानी वातावरणमा सुधार भएन । यद्यपि अहिलेसम्म ७ प्रतिशतले कर्जा विस्तार भएको छ । यसमा सन्तोष मान्नुपर्छ ।’ समग्र बजार मागमा सुधार नभएकाले यो वर्ष लक्ष्यअनुसार कर्जा विस्तार हुन नसकेको ती अधिकारीको भनाइ छ ।
यस वर्षका सबै महिनामा औसतमा ५ खर्बभन्दा बढी लगानीयोग्य रकम वित्तीय प्रणालीमा थुप्रिएको छ । ब्याजदर घटेर ४७ महिना यताकै कम अवस्थामा पुगेको छ । तर पनि अपेक्षित रूपमा कर्जा विस्तार हुन नसक्नुमा समग्र मागमा आएको कमीमा सुधार नहुनु, उद्योगहरू लक्ष्यको आधाभन्दा कम क्षमतामा मात्र चल्नु, समग्र लगानी वातावरण बन्न नसक्नुलगायत कारण रहेको जानकार बताउँछन् ।
अर्थतन्त्र चलायमान बन्न नसक्दा आर्थिक गतिविधिमा सुस्तता आएको र त्यसको असरले कर्जा माग बढ्न नसकेकाले वार्षिक लक्ष्य प्राप्ति हुन नसक्ने राष्ट्र बैंकका अधिकारी स्विकार्छन् । कर्जा माग बढेर आर्थिक गतिविधि चलायमान बन्न सहयोग पुगोस् भन्ने उद्देश्यले पछिल्लो समयमा आफूहरूले मौद्रिक लचकता अपनाइए पनि लक्ष्यअनुसार कर्जा विस्तार नभएको उनीहरूको भनाइ छ । वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति छ । तरलता व्यवस्थापनकै लागि राष्ट्र बैंकले ठूलो रकम खर्चिनुपरेको मासिक प्रतिवेदनहरूले देखाएका छन् ।
बजारमा कर्जाको माग कम भएको र केही बैंकहरू प्राथमिक पुँजीकोष (कोर क्यापिटल) को दबाबमा रहेका कारण कर्जा प्रवाह गर्न नसक्दा समग्र कर्जा लक्ष्यअनुसार बढ्न नसकेको बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले जनाए । ‘यस वर्ष राष्ट्र बैंकले साढे १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखे पनि यस वर्षको अन्त्यसम्म करिब ९ प्रतिशत हाराहारीमा पुग्ने देखिन्छ । पछिल्ला दिनमा बैंकहरूको कर्जा असुलीमा सुधार भएको देखिन्छ । यो क्रम बढ्दै गए आउँदा दिनमा कर्जा प्रवाहले गति लिन सक्छ,’ उनले भने ।
राष्ट्र बैंकले लक्ष्य तोकेको कर्जा विस्तार हासिल नभए पनि कर्जा विस्तार हुँदै नभएको भन्न नमिल्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित बताउँछन् । ‘केही भएको छैन भने पनि ४.५ प्रतिशतको आर्थिक वृद्धिदर देखिएकै छ । र सोहीअनुसार कर्जा विस्तार भएको देखिन्छ । यद्यपि यो अपेक्षित होइन । यसलाई आर्थिक शिथिलता आइसकेको भन्न मिल्दैन,’ उनले भने । पछिल्ला तथ्यांकहरूले आयात–निर्यातमा सकारात्मक संकेत देखाएको पनि उनको भनाइ छ । ‘ब्याजदर पनि एकल बिन्दुमा छ । यस हिसाबले हामी आशावादी हुने ठाउँ छ,’ उनले भने, ‘तसर्थ सकारात्मक होऔं, पक्कै राम्रो नतिजा देखिनेछ ।’
गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ र ३६.३ प्रतिशत थियो ।
‘गएको १० महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह ७.६, विकास बैंकहरूको ४.१ र वित्त कम्पनीहरूको ६.५ प्रतिशतले बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १४.६ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत छ ।’ गत आर्थिक वर्षको वैशाखसम्म यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १२.१ र ६८.५ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८१/८२ को १० महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९, निर्माण क्षेत्रतर्फको १२.३, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको ४.९, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको ११.९, सेवा उद्योग क्षेत्रतर्फको ७.९ र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
गत साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५.१, मार्जिन प्रकृतिको कर्जा ३९.३, ट्रस्ट रिसिट (आयात) कर्जा ५८.१, हायर पर्चेज कर्जा ४.१, नगद प्रवाह कर्जा ३.४ र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले बढेको छ । तर, सो अवधिमा अधिविकर्ष कर्जा १२.९ प्रतिशतले घटेको देखिन्छ ।
चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले थप ३ खर्ब ९९ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आर्थिक वर्षको अन्त्यको तुलनामा यो ६.२ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको १० महिनामा यस्तो निक्षेप ७.८ प्रतिशत अथवा ४ खर्ब ४३ अर्ब ८ करोडले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्तीमा ५.५, बचतमा ३५.९ र मुद्दतीमा ५०.८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५, २९.१ र ५९ प्रतिशत थियो ।
२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत छ । २०८१ वैशाखमा यस्तो निक्षेपको अंश ३५.७ प्रतिशत थियो ।
अघिल्ला दुई आर्थिक वर्ष उत्पादनमूलक उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार उप–क्षेत्रको वृद्धि ऋणात्मक रहेकामा चालु आर्थिक वर्षमा उक्त उप–क्षेत्रहरूको वृद्धि धनात्मक रहने तथ्यांक कार्यालयको अनुमान छ । तर यस वर्ष पर्यटक आगमनमा सुधार भएको, थोक तथा खुद्रा व्यापारमा विस्तार आएको देखिन्छ ।
यी हुन् कर्जा प्रवाह नबढ्नुका कारण
