काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोध जारी राखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुखले सदनको कारबाही सुरु गरेलगत्तै उनीहरूले उठेर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिएपछि सांसद भण्डारीले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरू, अध्यागमन विभाग र गृह मन्त्रालयसमेत संलग्न रहेको भन्दै मानव तस्करी भएको बताएकी थिइन् । उनले यसले नेपालको इज्जत र गरिमा धूमिल बनाएको बताइन् ।
आपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहे पनि सरकारले गम्भीरतापूर्वक नलिएको बताइन् । उनले २०६४ सालदेखि यो समस्या रहिआएको र अब यसको जालो च्यात्नुपर्ने उल्लेख गरिन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्न र सुशासन स्थापना गर्न आग्रह गरेकी छन् । सरकारले रोष्टमबाट धम्क्याएको उल्लेख गर्दै गृहमन्त्रीलाई आफूहरूले अपराधी भनेको नभएको स्पष्ट पारेकी थिइन् ।
भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गरिन् ।
