‘जनताप्रति जिम्मेवार भएर सोच्दा मान्छेलाई किन टाउको दुख्नु पर्यो’
चितवन — पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार चितवन शिवनगरमा रहेको आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गरेर महत्त्वपूर्ण ऐन बनाउनका लागि संसद् खोल्नु परेको भन्दै सरकारसँग गरेको दुई बुँदे सहमतिको बचाउ गरेका छन् ।
उनले शेरा दरबार र अस्थायी शिविर प्रकरणमा मुछ्ने कुनै आधार नभेटेपछि ‘प्रतिकृयावादीहरु’ले माओवादीको बद्नाम गर्न दुई बुँदेको सहारा लिएको बताए । आफ्नै दलभित्रै पनि विषय नबुझेर चित्त दुखाइ सुरु भएको उनको भनाइ थियो ।
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि दुई बुँदे गर्नुपरेको तर्क गरे । भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै माओवादी लगायतका प्रतिपक्ष दलहरुले लगातार संसद् अवरुद्ध गरेका थिए । माओवादीले दुई बुँदे सहमति गर्दै संसद् खोल्न तयार भए पनि रास्वपा लगातार जसो विरोधमा रहँदै आएको छ ।
दाहालले भने, ‘संघीय निजामति ऐन र शिक्षा ऐनजस्ता महत्त्वपूर्ण ऐन आउँदैछन् । यस्तो अवस्थामा एक महिनाको समय दिएर संसद् खोल्न किन नहुने । बजेटका लागि त एक दिन सवैले खोलेकै हो ।’
उनले संसद् अवरोध होस भन्ने चाहना राख्ने सरकारभित्रै रहेको बताए । ‘दुई बुँदेभित्र छानबिनको कुरा, अध्ययनको कुरा र समिति बनाएर दोषीलाई कारबाही गर्ने कुरामा प्रतिबद्धता भएको छ । एक महिनाभित्र हुने कुरा छ यो । एक महिनाभित्र भएन भने पक्कै पनि यो कुरा छुट्दैन । किन भने अध्यागमन र भिजिट भिसाको समस्या अहिलेको सरकार र अहिलेको गृहमन्त्रीबाट सुरु भएको र यही खत्तम हुने वाला हैन यो । यसको गहिरो अध्ययन, छानबिन र सुधार नगररे छोडेर छोडिने कुरा छैन । अगाडि जान्छ जान्छ’, दाहालले भने ।
आफूले छाडे पनि अब जनताले नछाड्ने अवस्थामा यो विषय पुगेको उनले बताए । ‘यो १५/२० दिनमा दुई तीनवटा ऐन बन्ने जुन कुरा छ त्यो बन्यो भने त्यसमा टेकेर झन् शक्तिशाली रुपमा यो विषयलाई अगाडि लैजाने छौं,’ दाहालको भनाइ थियो । उनले समाचार र सामाजिक सञ्जालमा हुने चर्चा र हल्लाले आफ्नै पार्टीका केही साथीहरुलाई नबुझेर के हो के हो भन्ने लाग्ने गरेको दाहालले बताए ।
‘सबले गाली गरेका छन् । छेपारो भनेका छन् । हो क्या हो लिडरशिपले गल्ती गर्यो भन्ने पनि लाग्न सक्छ,’ दाहालले भने । केहीले फेरि जानी, बुझेरै यही हो मौका भन्ने गरेको उनले बताए । ‘बाहिर मिडियाले गाली गरेका छन्, यही बेलामा प्रचण्डलाई ठोक्न पाए कमजोर पार्न सकिन्छ भन्ने धार पनि हुन सक्छ,’ दाहालले भने ।
दुई बुँदे नगरेको भए हुन्थ्यो भन्ने कुरा ‘बच्काना’ भएको र नेपाली राजनीतिलाई र अन्तरविरोध थाहा नपाउनुको परिणाम भएको दाहालले बताए । छानबिनको कुरालाई नछाडि ऐन बनाउने कुराको आवश्यकतालाई बोध गरेर अगाडि बढ्दा, जनताप्रति जिम्मेवार भएर सोच्दा मान्छेहरुलाई किन टाउको दुख्नु पर्यो भन्ने दाहालको प्रश्न थियो ।
