नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको अभियोग
राजविराज — नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर (सहायक प्राविधिक) माथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सब–इन्जिनियर दिपेन्द्रकुमार झा भनिने दीपेन्द्र कुमारमाथि विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।
उनी नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार पदमा जागिर खाएको आयोगको आरोप छ । आयोगमा परेको उजुरीअनुसार उनीमाथि अनुसन्धान हुँदा शैक्षिक प्रमाणपत्र नक्कली देखिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले विज्ञप्तिमार्फत जानकारी दिए ।
उनका अनुसार झाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्स्टिच्युट अफ इन्जिनिरिङ वेस्टर्न रिजन कलेज, लामाचोर पोखराबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेको भनि नक्कली प्रमाणपत्र पेस गरेर गाउँपालिकामा नियुक्ति पाएका थिए ।
झाले सो पदको लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेकोले सोही ऐनअनुसार कैद र जरिवाना सजाय मागदावी लिइएको आयोगले जनाएको छ ।
