बागलुङ — कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी मंसिरमा कांग्रेसको महाधिवेशन हुन नसक्ने बताएका छन् । उनले त्यसको लागि कांग्रेसमा तयारी पनि नपुगेको बताए । नेपाल प्रेस युनियन बागलुङले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महतले एक वर्षसम्ममा महाधिवेशन गर्न सकिने गरी तयारी भएको बताए ।
पार्टीको विधान अनुसार केन्द्रीय समितिको चार वर्ष पदावधि भए पनि एक वर्ष थप गर्न मिल्ने प्रावधानमा टेकेर २०८३ को मंसिरभित्र अधिवेसन गर्ने तयारी हुने बताए ।
केही नेताले समयमै महाधिवेशन गर्नुपर्छ भने पनि तत्काल काम भ्याउन नसकिने उनले बताए । बोल्ने अधिकार सबैलाई भए पनि काम गरेर अधिवेसन गर्न समय लाग्ने उनको तर्क थियो । ‘विधानले पनि दिएको छ, क्रियाशील सदस्यता टुंगो लगाउनेदेखि अन्य आन्तरिक तयारीमा पनि समय लाग्छ,’ उनले भने, ‘कार्यप्रगति यथेष्ट भइसकेको छैन, छिट्टै काम पूरा गरेर मात्र महाधिवेशनको टुंगो लाग्ने हो ।’ लोकतान्त्रिक पार्टी भएकोले लोकतन्त्रको मूल्य मान्यतामा पालना गर्ने समेत उनले बताए ।
महतले भ्रातृ संगठनहरूको अधिवेसन भने छिट्टै गर्ने बताए । उनले सबै खाले विवाद मिलाएर पार्टीले छिट्टै अधिवेशनको निर्णय लिने बताएका छन् । भ्रातृ संगठनहरूमा बेथिति हुन नदिने भन्दै उनले तदर्थवाद समाप्त पार्न पहल भइरहेको पनि बताए । नेविसंघ, महिला संघ, तरुण दल लगायतका भातृ संगठनहरू लामो समयदेखि तदर्थ समितिको रूपमा चलेकोले अधिवेशनमार्फत चुस्त समिति ल्याएर चलायमान बनाउन पार्टीले पनि पहल गरेको महतको भनाइ छ ।
संविधान संशोधनको चरण पनि छिट्टै सुरू हुने महतले बताएका छन् । कांग्रेस एमाले गठबन्धन हुँदा संविधान संशोधनलाई पनि सहमतिको बुँदामा राखिएको थियो । उक्त बुँदा अनुसार जान पार्टीहरू सहमत भएको भन्दै केही समयमा नै त्यो चरण सुरू हुने बताए । ‘प्रतिनिधिसभामा त हामी बहुमतमा छौँ, राष्ट्रिय सभाले पनि त्यो एजेन्डा पास गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि विपक्षी समेत सहमत बन्ने गरी संशोधनका बुँदा तयार गर्छौँ ।’ संविधान कार्यान्वयन गर्दा आइपरेका बाधाबारे सबै दल जानकार भएको समेत उनको धारणा थियो ।
अर्को प्रसंगमा उनले आइटी क्षेत्रलाई बलियो बनाएर युवा रोजगारी बढाउने बताए । बजेट र नीतिले पनि युवालाई रोजगारी दिएर वैदेशिक पलायन रोक्ने उनको भनाइ थियो । ‘विदेश जानै हुँदैन भन्ने मान्यता राख्नु भएन, तर स्वदेशमा कमाएर रमाउने वातावरण भने राज्यले बनाउनै पर्छ’ उनले भने, ‘आईटी क्षेत्रलाई करमा ५० प्रतिशत छुट दिइएकोले युवामा केही आशा पलाएको छ ।’
