काठमाडौँ — रास्वपा सांसदहरूले संसद् बैठकमा निलो रिबन भिरेर नाराबाजी गरेपछि कांग्रेसले नियमापत्ति जनाएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति जनाएबम हुन् ।
संसद्मा मर्यादित पोसाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले लगाएको स्कार्फ मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न घिमिरेको थियो ।
'यो संसद्मा मर्यादित पोसाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । यो नियमावलीमै गरिएको व्यवस्था हो । यो संसद्मा अहिले केही मान्य सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन ? यसरी भोलि कोही हाफ पाइन्ट मात्र लगाएर आउने, जथाभाबी ड्रेसमा आउने, जे पनि लगाएर आउन थाल्यो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?,' उनले भने ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद् अवरोध गर्दै आएका छन् । उनीहरूले गत जेठ १३ देखि संसद् विरोध गर्दै आएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि रास्वपाका सांसदहरूले निलो रिबन लगाएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गरेका छन् ।
