रास्वपाको ‘वेल’ घेराउबीच सभामुखले चलाए संसद्

नैतिकता नसिकाउन रास्वपालाई कांग्रेसको चेतावनी, नाराबाजीलाई ‘मीठो धुन’ भन्दै एमालेको व्यंग्य, पेलेर नजान सत्तापक्षलाई माओवादीको आग्रह 

असार २, २०८२

जयसिंह महरा

The speaker ran the parliament amid the ”well” of the RSVP

काठमाडौँ — भिजिट भिसा प्रकरणमा संसदीय वा न्यायिक छानबिन समिति गठनको माग गर्दै रास्वपाले प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘वेल’ घेराउ र नाराबाजी गरेको छ । विपक्षीले विरोध गरे पनि सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अघि बढाएका थिए ।

रास्वपाले संसद्को ‘वेल’ घेराउ गरेको दोस्रो दिन हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि संलग्नताको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी माओवादी, विपक्षीहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विरोध गर्दै आएका थिए ।

जेठ ३० मा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौलाले दुईबुँदे सहमति भएको छ । उक्त सहमतिपछि माओवादी र एकीकृत समाजवादी संसद्को विरोधबाट पछाडि हटेका छन् भने रास्वपा ‘वेल’ मा पुगेको छ ।

प्रमुख प्रतिपक्ष र सत्तापक्षबीच भिजिट भिसाबारे अख्तियारले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने सहमति भएको छ । अध्यागमन तथा भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकारले अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने सहमति पनि दुई पक्षबीच भएको छ ।

प्रमुख प्रतिपक्षी माओवादीको साथ पाएपछि सत्तापक्षको चाहनाअनुसार सभामुख घिमिरेले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका हुन् । रास्वपाले नाराबाजी गरेको र राप्रपाले बहिष्कार गरे पनि सभामुखले संसद्को कारबाही अगाडि बढाएका थिए । संसदीय अभ्यासमा विपक्षी वा सत्तापक्षको एक जना सांसद पनि सिटबाट उभिएर विरोध गरेमा बैठक अगाडि नबढाउने प्रचलन छ । पछिल्लो समय यो अभ्यास तोडिँदै आएकामा सभामुख घिमिरेले पनि निरन्तरता दिएका छन् ।

आइतबार संसद्मा सुरुमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको थियो । त्यसपछि सभामुखको अनुमतिले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा सत्ता र प्रमुख प्रतिपक्षका सांसद सहभागी भएका थिए । 

बैठकको अन्तिममा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्न सभामुखले अनुमति दिएका थिए । प्रतिनिधिसभाका यी कार्यसूची अगाडि बढिरहँदा रास्वपाका सांसदले ‘वेल’ मा नाराबाजी गरिरहेका थिए । उनीहरूले भिजिट भिसाको छानबिन गर्नुपर्ने, मानव तस्करी रोक्नुपर्ने, गृहमन्त्रीले राजीनामा गर्नुपर्ने, संसदीय मर्यादा कायम गर्नुपर्नेलगायत नारा लगाएका थिए । 

राप्रपाका सांसदले पनि सिटबाट उभिएर विरोध जनाएका थिए । सभामुखले कार्यसूची अगाडि बढाएपछि भने राप्रपाले बैठक नै बहिष्कार गरेको थियो । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विरोधबीच संसद् बैठक चलाइएको भन्दै आपत्ति जनाए । ‘संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ ?,’ शाहीले भने, ‘यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नुस् ।’ 

प्रतिपक्षको मागलाई सभामुखले बेवास्ता गरेका कारण बैठक बहिष्कार गरेको शाहीले बताए । ‘३५ जना जति सांसदले आवाज उठाउँदा सभामुखले अनदेखा गर्नुभयो । सभामुख र संसद् स्वयं बिचौलियाको पक्षमा उभिएपछि हामीले संसद् बहिष्कार गर्‍यौं,’ उनले भने । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले ‘वेल’ मा भइरहेको नाराबाजीका कारण अर्थमन्त्रीको वक्तव्य नसुनिएको भन्दै अवरोध अन्त्यका लागि पहल गर्न सभामुखलाई आग्रह गरेका थिए । ‘यो सभा चलाउने तरिका भएन । एउटा टुंगो लगाएर मात्रै अघि बढाऔं,’ उनले भने । 

माओवादी उपमहासचिव वर्षमान पुनले रास्वपालाई पेल्ने बाटोमा नलाग्न सत्तापक्षलाई आग्रह गरे । ‘प्रमुख प्रतिपक्षी दल आइसक्यो, अब यस (रास्वपा) लाई पेले पनि हुन्छ भन्ने ठानिनु हुँदैन,’ उनले भने । संसद् सञ्चालनमा सत्तापक्ष र सभामुख जिम्मेवार बन्नुपर्ने पुनको भनाइ थियो । ‘सभामुख सदनको अभिभावक हुनुहुन्छ । संवादको वातावरण बनाउनुस् । उहाँहरूलाई पनि छलफलमा ल्याउने, बजेटमा आफ्ना धारणा राख्ने वातावरण बनाउनुस्,’ उनले भने ।

बैठकमा बोल्ने एमाले र कांग्रेसका सांसदले भने रास्वपाको आलोचना गरेका थिए । एमाले सांसद भीम आचार्यले ‘वेल’ मा रास्वपाले गरेको नाराबाजीलाई ‘मीठो धुन’ को संज्ञा दिए । ‘वेलमा रास्वपाले मीठो धुन बजाएर मेरो बोलीमा सहयोग गर्नुभएको छ । एकछिन बसेर आराम पनि गर्नुभएको छ,’ उनले भने ।

आफ्ना विषयवस्तु सदनमा राखिसकेकाले बजेटमाथिको छलफलमा सहभागी हुन उनको आग्रह थियो । संसद्को अंकगणितले मात्रै सरकार गठन हुने र ढल्ने स्मरण गराउँदै आचार्यले ‘वेल’ बाट नारा लगाएर नहुने बताए । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाले नैतिकता सिकाउन नमिल्ने टिप्पणी गरे । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully