बजेटको आलोचना गर्ने मौका बन्द गरेकामा सरकारले रास्वपालाई धन्यवाद दिनुपर्छ : बास्कोटा

असार २, २०८२

कान्तिपुर संवाददाता

Govt should thank RSVP for closing the opportunity to criticize the budget: Baskota

काठमाडौँ — भिजिट भिसा प्रकरणको संसदीय वा न्यायिक छानबिनको माग गर्दै रास्वपाले प्रतिनिधिसभाको 'वेल' घेराउ र नाराबाजी गर्दा बजेटमाथिको छलफल प्रभावित भएको छ ।

यस्तो कार्यले सरकारलाई सहज बनेको भन्दै एमाले सांसद गोकुल बास्कोटाले रास्वपालाई धन्यवाद दिनुपर्ने बताएका छन् ।

बजेटको विरोधमा रास्वपा आफू पनि नबोल्ने र अरुलाई पनि बोल्न नदिने नीतिमा रहेर सरकारलाई सहज बनाउन लागेको बास्कोटाको ठहर छ । 'वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनुपर्ने हो । उनीहरूले सरकारलाई आफूले पनि आलोचना नगरीकन र अरुबाट हुन सक्ने मौकासमेत बन्द गरी दिएर हुनसम्म सजिलो बनाइदिए,' बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, 'बजेटका बेला यस्तो प्रतिपक्ष संसारमा विरलै भेटिन्छन् होला ।' बास्कोटाले रास्वपाको संसद्मा जारी अवरोधलाई 'लय मिलेको देउसी'को संज्ञा पनि दिएका छन् ।

प्रतिनिधिसभामा जेठ १३ देखि विपक्षी दलहरूले विरोध गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी माओवादी र विपक्षी एकीकृत समाजवादीले दुईबुँदे सहमति गरेर जेठ ३० मा विरोध फिर्ता लिएका थिए भने रास्वपा सोही दिनदेखि वेल घेराउ र नाराबाजीमा उत्रिएको थियो । सरकारले रास्वपाको विरोधलाई अन्त्य गर्न पहल नगरेको आरोप पनि सत्तापक्षबाट नै लाग्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully