आइतबार बिहान प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुख घिमिरेले संसद् सञ्चालनकै विषयमा रास्वपाका कार्यवाहक सभापति अर्याल र राप्रपा अध्यक्ष लिङ्देनसँग पनि अलग-अलग छलफल गरेका छन्
काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन सक्रियता देखाएका छन्। आइतबार बिहान प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुख घिमिरेले संसद् सञ्चालनकै विषयमा रास्वपाका कार्यवाहक सभापति अर्याल र राप्रपा अध्यक्ष लिङ्देनसँग पनि अलग-अलग छलफल गरेका छन्।
सभामुख घिमिरेले संसद्मा मर्यादित भएर प्रस्तुत हुन समेत दलहरूलाई आग्रह गरेका छन्। सिंहदरबारमा बिहान भएको छलफलमा मुख्य सचेतक र प्रमुख सचेतकहरूले संसद्मा मर्यादाविपरीत गतिविधि भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।
त्यसबारे सभामुख घिमिरेले रास्वपाका सभापति अर्याल र राप्रपाका अध्यक्ष लिङ्देनलाई संसद्मा मर्यादित भएर प्रस्तुत हुन आग्रह गरेका छन्। रास्वपाका कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको भन्दै अवरोधको स्वरुप बदल्न आग्रह गरे।
जवाफमा रास्वपाका अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाए।
त्यस्तै, सभामुख घिमिरेले राप्रपाका अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन आग्रह गरेका छन्। अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुख घिमिरेले संसद्मा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका थिए।
