काठमाडौँ — विपक्षी दल राप्रपाले आइतबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । विरोधका बीच पनि सभामुख देवराज घिमिरेले बैठक चलाएको भन्दै राप्रपाले बैठक बहिष्कार गरेको हो ।
राप्रपाले सदनमा अवरोध भएका बेला कारबाही अगाडि नबढाउन आग्रह गरेको थियो । रास्वपाले वेल घेराउ र राप्रपाले उठेर विरोध गरे पनि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक निरन्तर अगाडि बढाएका छन् ।
त्यसअघि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विरोधका बीच संसद् बैठक चलाइएको भन्दै आपत्ति जनाएका थिए । उनले विरोधबीच संसद् बैठक चलाएर दादागिरी देखाएको आरोपसमेत लगाएका थिए ।
उनले भनेका थिए, 'संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ । उहाँहरू पनि, हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नुस् ।'
