नेपाली संस्कृतिले विश्वभरका नेपालीलाई एकतामा बाँधिरहेको छ : सञ्चारमन्त्री गुरुङ

असार १, २०८२

कान्तिपुर संवाददाता

Nepali culture is binding Nepalis all over the world in unity: Communications Minister Gurung

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले केही कारणबस सिमाना छुट्टीए पनि नेपाली संस्कृति, संस्कार र भाषाले सबै नेपालीलाई एकतामा बाँध्ने गरेको बताएका छन् । विभिन्न कारणस्वरुप नेपाली जहाँ बसे पनि यहाँको संस्कार, संस्कृति र भाषाशैली मार्फत नेपाललाई विश्वमा चिनाउन सकिने मन्त्री गुरुङले उल्लेख गरे । 

हाल प्रसारण भइरहेको विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का प्रतियोगीहरुलाई आइतबार मन्त्रालयमै स्वागत गर्दै गुरुङले कला संस्कृति नै मुलुकको पहिचान विश्वव्यापीकरण गराउन मद्दत गर्ने उल्लेख गरे । 'सुगौली सन्धिपछि, विश्वयुद्धको प्रभाव र अहिले विश्वव्यापीकरण गरी तीन तरिकाले नेपाली विभिन्न देशमा छरिएर रहेका छन् । विभिन्न कारण स्वरुप नेपाली जहाँ बसे पनि यहाँको संस्कार, संस्कृति र भाषाशैलीमार्फत नेपाललाई विश्वमा चिनाउन सकिन्छ,' उनले भने । 

शोमा सहभागी भएका प्रतियोगीहरुले उनहरुले सामूहिक रुपमा राष्ट्रिय भाव झल्काउने ‘भाषा भेषको, जहाँ जाँऊ लागिरहन्छ माया देशको...’ बोलको गीत गाएका थिए । 'मेरा बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नु भयो । सात पुस्तापछि पहिलो पटक नेपाल आएकी हुँ । म आफूलाई निकै भाग्य मानि ठानेकी छु,' म्यानमारबाट पहिलोपटक नेपाल आएकी अस्मिता न्यौपाने भनिन् । 

अमेरिकास्थित नेपालीभाषीहरुको सामाजिक संस्था इन्ट्रा फाउन्डेसनका कार्यकारी निर्देशक चुडामणि भट्टराईकाअनुसार संसारभर छरिएका नेपाली मुलुकका नागरिकलाई गायन र नृत्य कलामार्फत एउटै मालामा गाँसेर नेपाली सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए । 

दुवै शोमा विभिन्न ६० मुलुकबाट सहभागिता भई हाल १६ देश प्रतिभा उत्कृष्ट १८ को सूचीमा प्रवेश गरेका छन् । 

कान्तिपुर

Link copied successfully