पाेखरा — मुग्लिनबाट पोखरा जाने पृथ्वीराजमार्ग अन्तर्गतको ९० किलोमिटर सडकमध्येको मर्स्याङ्दी जलविद्युत् गृह छेउछाउको सात किमिबाहेक पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) को काम सकिएको छ । यो खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक तोकिएकै जेठ मसान्तमा सकिएको हो ।
पूर्वी खण्डमा रहेका सबै १८ वटा पुलमध्ये १७ वटाको निर्माण सम्पन्न भएको छ । दमौलीको मादी खोलाको पुल भने निर्माणकै क्रममा छ । सन् २०२५ सेप्टेम्बरमा काम सक्ने गरी एक अर्ब २१ करोड रुपैयाँमा मादी पुलको ठेक्का ११ अगष्ट २०२२ मा सम्झौता भएको थियो ।सडक आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालले निर्माण सम्पन्न भएका पुलको रंगरोगनको काम चलिरहेको बताए ।
मर्स्याङ्दी जलविद्युत् गृहबाट मुग्लिनतर्फ जाने सात किमि सडक बिस्तारको काम भने अहिले भएको छैन । विद्युत् गृहका कारण यहाँको सडक खण्डमा मर्स्याङ्दी नदी कटाएर गोर्खा हुँदै मुग्लिन लैजाने सडक विभागको योजना छ । यो सडक निमार्ण गर्न भने टेन्डर नै भएको छैन ।
पृथ्वीराजमार्गको पूर्वी खण्डका सूचना अधिकारी विष्णु पाण्डेका अनुसार जेठ मसान्तसम्ममा निर्माण सकिने लक्ष्य अनुसार यो खण्डको एउटा पुलबाहेक सडकको काम सकिएको बताए । यो सडक खण्डको काम सक्न यसअघि तीन पटकसम्म म्याद थपिएको हो । म्याद थपेको तेस्रो पटकमा सडक निर्माणको काम सकिएको हो ।
मुख्य सडकको सबै निर्माणको काम सकिएपनि यो खण्डमा पर्ने दमौली र डुम्रे बजारमा पर्ने २ सय मिटर सर्भिस लेन निर्माणाधीन अवस्थामा छ । वर्षा रोकिए एक सातामा त्यो दुई सय मिटर निर्माणको काम पनि सकिने सूचना अधिकारी पाण्डेले बताए । यो सडक खण्डमा डुम्रे र दमौली बजारमा ६ लेन र राजमार्गका ४ लेनको सडक निर्माण भएको छ ।
२०२६ मा रेखांकन भएको पृथ्वी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा साबिक २ लेनमा रहेको सडक चार लेनमा विस्तार गर्न लागिएको हो ।
पाण्डेका अनुसार पूर्वी खण्डको सडक निर्माण ६ अर्ब २१ करोडको लागतमा काम सम्पन्न भएको हो ।
