काठमाडौँ — सत्तारुढ जनता समाजवादी पार्टी प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मुलुकको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशेढुंगा बन्ने दाबी गरेका छन् । उनले देशको अर्थतन्त्रका संरचनागत चूनौती र विगतका कमजोरीबाट मुक्त गर्न अहिलेको बजेटले प्रेरित गर्ने बताए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै महतोले भने, ‘म जनता समाजवादी पार्टीको तर्फबाट आर्थिक वर्ष २०८२/८३ का लागि सरकारद्वारा प्रस्तुत बजेट तथा कार्यक्रममा पूर्ण समर्थनसहित स्वागत गर्दछु । यो बजेट मुलुकको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशेढुंगा बन्ने मेरो विश्वास छ । निजी क्षेत्रको तर्फबाट बजेटको स्वागतसँगै देशको अर्थतन्त्र संरचनागत चुनौती र विगतका कमजोरीको अवसरबाट मुक्त गर्न यसले प्रेरित गरेको छ ।’
महतोले बजेटले युवालाई केन्द्रमा राखेर नवप्रर्वतनमा जोड दिएको उल्लेख गरे । उनले भने, ‘यो बजेटले समेटेका मुख्य विषयवस्तुहरू– विशेषगरी युवालाई केन्द्रमा राखी नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशिलता, स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य श्रृंखलामा आवद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम, तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन रकम विनियोजन, कृषि तथा प्रविधिमा नवप्रवर्तनजस्ता कार्यक्रम प्रशंसायोग्य छन्। यी योजनाहरूले स्वदेशमै अवसर सिर्जना गर्न र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्न निर्णायक भूमिका खेल्नेछन्।’
पूर्वमन्त्रीसमेत रहेका महतोले यो बजेटले निजी क्षेत्रसँग सहकार्य गर्दै उत्पादनमूलक उद्योग, ऊर्जा, पूर्वाधार, यातायात र डिजिटल प्रविधिमा आधारित विकासको मोडेललाई अघि सारेको भन्दै प्रशंसा गरे । उनले भने, ‘लगानीमैत्री वातावरण निर्माण, पीपीपी मोडललाई प्राथमिकता, तथा सेवाप्रवाहको डिजिटल रूपान्तरणजस्ता पहलहरू देशको दीर्घकालीन आर्थिक उन्नतिको मेरुदण्ड सावित हुने हाम्रो विश्वास छ।’
महतोले जसपा यस सरकारमा जिम्मेवारीबोध गरेर सहभागी रहेको उल्लेख गर्दै जसपाको नेतृत्वमा रहेका खानेपानी मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय हासिल गरेका उपलब्धि र आगामी वर्षका लागि तय गरिएका कार्यक्रम बजेटको गौरवपूर्ण पक्ष भएको बताए । उनले भने, ‘खानेपानी मन्त्रालयले ग्रामीण तथा शहरी क्षेत्रमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच अभिवृद्धि, जलस्रोतको संरक्षण, र खानेपानी आपूर्ति प्रणालीको आधुनिकीकरणमा महत्त्वपूर्ण काम गर्दै आएको छ ।’
महतोले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, जेष्ठ नागरिकको सम्मानजनक जीवन र घरेलु हिंसाबाट पीडितहरूको पुनःस्थापनामा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे ।
जसपा सधैं लोकतान्त्रिक, समाजवादी र समावेशी मूल्यमा आधारित उत्पादनमुखी अर्थतन्त्र निर्माणको पक्षमा दृढतापूर्वक उभिएको महतोको भनाइ थियो । उनले भने, ‘यो बजेटले त्यसै दिशामा अग्रसर हुँदै देशका हरेक वर्ग, क्षेत्र र समुदायलाई समेट्ने प्रयास गरेको देखिन्छ । खासगरी पछाडि पारिएका वर्ग, विपन्न नागरिक, महिला, बालबालिका, जेष्ठ नागरिक र युवाहरूका लागि लक्षित कार्यक्रमले सामाजिक न्यायको मूल मर्मलाई सम्बोधन गरेको छ ।’
महतोले कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने कुरा सुखद् रहेको टिप्पणी गरे । आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने कुरा राम्रो रहेको उनको भनाइ थियो ।
हुलाकी राजमार्गको निर्माण कार्य ढिलासुस्ती भएकोमा भने महतोको गुनासो थियो । उनले भने, ‘आगामी २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिएको छ । तराई-मधेशको लाईफलाईन मानिएको यस राजमार्गलाई बजेट अलिक कम विनियोजन किन गरियो ? सरकारले यसमा ध्यान दियोस । धनुषा र सिरहा जोड्ने कमला पूल अलपत्र परेको छ । यसको पूनःनिर्माणमा सरकारले विशेष ध्यान दिनुपर्छ ।
