पूर्वअर्थमन्त्री पुनको टिप्पणी : सरकार बलियो, बजेट कमजोर

असार १, २०८२

कान्तिपुर संवाददाता

Former Finance Minister Pun's comment: The government is strong, the budget is weak

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कमजोर रहेको पूर्वअर्थमन्त्री तथा माओवादी उपमहासचिव वर्षमान पुनले टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा 'आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल' का क्रममा पुनले बलियो सरकारको कमजोर बजेट आएको बताएका हुन् ।

संसद्को गणितीय हिसाबले करिब दुई तिहाइको सरकारले भएपनि बजेट निर्माणमा मिहिनेत नपुगेको पुनले बताए । संविधान संशोधन, राजनीतिक स्थायित्व, सेवा प्रवाहमा कडाइ र अर्थतन्त्रमा सुधारको प्रतिबद्धता जनाएर गठन भएको सरकारको बजेट भने कमजोर रहेको उनको भनाइ थियो ।

'अहिलेको सरकार पहिलो ठूलो, दोस्रो ठूलो दल र संसद्को गणितीय हिसाबले करिब दुई तिहाइको हो । दुई तिहाइको सरकार गठन हुँदै गर्दा हामी संविधान संशोधन गर्छौं, राजनीतिक स्थिर बनाउँछौँ, सेवा प्रवाहका कुरामा कडाइका साथ जान्छौं र अर्थतन्त्रमा केही सुधार गर्छौ भनेर उहाँहरूले प्रतिबद्धता गर्नुभएको थियो,' पुनले भने, 'यो बजेट हेर्दा बलियो सरकारको कमजोर बजेटको रूपमा आएको छ । सरकार बलियो, बजेट कमजोर ।'

बजेटमा अर्थमन्त्री मिहिनेत नदेखिएको उनले आरोप लगाए । दुई ठूला दलले पनि गर्नुपर्ने मिहिनेत जति नगरेको उनको भनाइ थियो । 'एजेन्डालाई नारासहित विषयमा केन्द्रित गरेर, बजेटलाई प्याकेजिङ गरेर, ब्रान्डिङ गरेर एकीकृत रूपले कहाँनिर फोकस गर्न खोजेको हो, त्यो हुनुपर्थ्यो,' उनले भने ।

पुनले आगामी आर्थिक वर्षको बजेट राजनीतिक नेतृत्वले मिहिनेतका साथ नभई प्रशासकीय तहले नियमित रूपमा बनाउने बजेटको रूपमा देखिएको बताए ।  

कान्तिपुर

Link copied successfully