नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिन राजदूतहरुलाई परराष्ट्रमन्त्री राणाको निर्देशन

'इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित'

असार १, २०८२

कान्तिपुर संवाददाता

Foreign Minister Rana instructed the ambassadors to give top priority to the security of Nepali people

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न राजदूतहरुलाई निर्देशन दिएकी छन् । 

इजरायल-इरान युद्धका सन्दर्भमा आइतबार परराष्ट्रमन्त्री राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन गरी नागरिकको सुरक्षा र उनीहरुसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएकी हुन् ।

'इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घट्‌नाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सह-प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीहरुलाई निरन्तर सुसूचित गर्न निर्देशन दिनुभएको छ,' परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हाल इजरायलमा करिब ५ हजार ५०० र इरानमा रहेका १२ नेपाली सबै सुरक्षित रहेकोसमेत मन्त्रालयले जनाएको छ । इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यक उपयुक्त कदम चालिने विज्ञप्तिमा जनाइएको छ । 

ती देशमा रहेका नेपाली नागरिकले आवश्यकताअनुसार राजदूत र दूतावासहमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । 

Foreign Minister Rana instructed the ambassadors to give top priority to the security of Nepali people

कान्तिपुर संवाददाता

Link copied successfully