संसद्‍मा आज : रास्वपाले वेल घेर्‍यो, कांग्रेसले नैतिकताको पाठ पढाउँदा राप्रपा बहिष्कारमा

बोल्नका लागि सांसद रोस्ट्रममा जाँदा र फर्किँदा वेल घेराउमा रहेका सांसदले गर्दा अप्ठ्यारो परिरहेको थियो । वक्ता सांसदलाई रोस्ट्रममा आउन र फर्किनका लागि वातावरण बनाइदिन भन्दै सभामुखले आग्रह गरिरहेका थिए ।

असार १, २०८२

जयसिंह महरा

Today in Parliament: RPP surrounds Well, boycotts RPP while Congress teaches moral lessons

काठमाडौँ — भिजिट भिसामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले मानव तस्करी गरेको आरोप लगाउँदै संसदीय वा न्यायिक छानबिन समिति गठनको माग गर्दै रास्वपाले प्रतिनिधिसभाको 'वेल' नाराबाजी गरेको  छ । आइतबारको प्रतिनिधिसभा बैठक रास्वपाले वेल घेराउ गरेको दोस्रो दिन हो । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि संलग्नताको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी माओवादी, विपक्षीहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विरोध गर्दै आएका थिए । जेठ ३० मा प्रमुख प्रतिपक्षी माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौलाले दुई बुँदै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । उक्त सहमतिपछि माओवादी र एकीकृत समाजवादी संसद्को विरोधबाट पछाडि हटेका थिए भने रास्वपा वेलमा पुगेको थियो । 

प्रमुख प्रतिपक्ष र सत्तापक्षबीच भिजिट भिसाबारे अख्तियारले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने र अध्यागमन तथा भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकारले अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने सहमति भएको थियो ।

प्रमुख प्रतिपक्षी माओवादीको साथ पाएपछि सत्तापक्षले सदनको कारबाही नियमित रूपमा अगाडि बढाउनुपर्ने सत्तापक्षको चाहनाअनुसार नै सभामुख घिमिरेले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका छन् । संसद्को वेलमा विपक्षी रास्वपाले नाराबाजी गरेको र राप्रपाले बहिष्कार गरेको कुरालाई नजरअन्दाज गर्दै सभामुखले संसद्को कारबाही अगाडि बढाएका हुन् । संसदीय अभ्यासमा विपक्षी वा सत्तापक्षको एक जना सांसद पनि सिटबाट उभिएर विरोध गरेमा बैठक अगाडि नबढाउने प्रचलन छ । पछिल्लो समय यो अभ्यास तोडिँदै आएकोमा सभामुख घिमिरेले पनि निरन्तरता दिएका छन् । 

Today in Parliament: RPP surrounds Well, boycotts RPP while Congress teaches moral lessons

सभामुख घिमिरेले आइतबारको बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराए । सुरुमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको थियो । त्यसपछि सभामुखको अनुमतिले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वक्तव्यसहित 'आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलमा सत्ता र प्रमुख प्रतिपक्षका सांसदहरू सहभागि भएका थिए । आइतबारको बैठकको अन्तिममा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई 'संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन' पेस गर्न सभामुखले अनुमति दिएका थिए । 

प्रतिनिधिसभाका यी कार्यसूची अगाडि बढिरहँदा रास्वपाका सांसदहरूले वेलमा नाराबाजी गरिरहेका थिए । उनीहरूले भिजिट भिसाको छानबिन गर्नुपर्ने, मानव तस्करी रोक्नुपर्ने, गृहमन्त्रीले राजीनामा गर्नुपर्ने, संसदीय मर्यादा कायम गर्नुपर्नेलगायतका नारा लगाइरहेका थिए । उनीहरूले घरी बसेर त घरी उभिएर नारा लगाएका थिए । 

रास्वपाले वेलमा नाराबाजी गर्दा राप्रपाका सांसदहरू भने सिटबाट उभिएर विरोध जनाइरहेका थिए । विपक्षी दलहरूले वेल घेराउ र उभिएर विरोध जनाउँदा पनि सभामुखले कार्यसूची अगाडि बढाएपछि राप्रपाले बैठकै बहिष्कार गरेको थियो । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विरोधबीच संसद् बैठक चलाइएको भन्दै आपत्ति जनाएका थिए । 'संसद्‍मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ । उहाँहरू (रास्वपा सांसद) पनि, हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो,' शाहीले भनेका थिए, 'भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नुस् ।'

Today in Parliament: RPP surrounds Well, boycotts RPP while Congress teaches moral lessons

बैठक बहिष्कार गरेपछि राप्रपा प्रमुख सचेतक शाहीले सभामुखमाथि गम्भीर आरोप लगाएका थिए । 'सफ्टवेयर नै बनाएर ठगिएको छ भन्नेकुरा बाहिरिँदा पनि संसद्मा हामीले गृहमन्त्रीको जवाफ चाहियो भनेर ३५ जना जति सांसदले आवाज उठाउँदा सभामुखले त्यो अनदेखा गर्नुभयो । सभामुख र संसद् स्वयं विचौलियाको पक्षमा उभिएपछि हामीले संसद् बहिष्कार गर्‍यौँ । बहिष्कार गर्नु शिवाय अर्को विकल्प छैन,’ उनले भने । 

विपक्षी एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भने वेलमा भइरहेको नाराबाजीका कारण अर्थमन्त्रीको वक्तव्य नसुनिएको भन्दै अवरोध अन्त्यको पहल गर्न सभामुखलाई आग्रह गरेका थिए । ‘अर्थमन्त्रीले बजेटसँग सम्बन्धित कतिपय महत्त्वपूर्ण विषय, हिजो छुट भएका, आज केही संशोधन गर्नुपर्ने विषय भएका महत्त्वपूर्ण कुरा सुनाइरहनुभएको छ । प्रतिपक्षमा रहेका दलहरूमध्ये एउटा अवरोधको अवस्थामा छ । अर्को दल वेल घेराउ गरेर नाराबाजी गरिरहेको छ । मन्त्रीज्युले भनेका कुराहरू हामीले सुनिरहेका छैनौँ,' उनले भने, 'कसरी सभा चलाउने हो ? यो सभा चलाउने तरिका भएन । यो स्थगित गरी सहमति गरेपछि एउटा टुंगो लगाएर मात्रै अघि बढाऔँ ।’ 

माओवादी उपमहासचिव वर्षमान पुनले रास्वपालाई पेल्ने बाटोमा नलाग्न सत्तापक्षलाई आग्रह गरेका थिए । 'प्रमुख प्रुमख प्रतिपक्षी दल आइसक्यो, अब यस (रास्वपा) लाई पेले पनि हुन्छ भन्ने ठानिनु हुँदैन । कहिले को प्रतिपक्ष हुन्छ, कहिले कसको संख्या ठूलो हुन्छ, कसको सानो हुन्छ, यो भइराख्ने कुरा हुन् । संसदीय गणित परिवर्तन भइरहने कुरा हुन्,' उनले भने, 'प्रमुख प्रतिपक्षी दललाई ल्याइहाल्यौं, प्रतिपक्ष अलग भयो, चौथो दल कमजोर भयो, यसै बेला अलिअलि राजनीतिक रूपले दबाब बनाऔं, विगतमा सानातिना कुरासँग प्रतिशोध पनि देखाइहालौं भन्नेजस्तो सत्तापक्षले गर्न मिल्दैन ।' संसद् सञ्चालनमा सत्तापक्ष र सभामुख जिम्मेवार बन्नुपर्ने पुनको भनाइ थियो । 'सभामुख सदनको अभिभावक हुनुहुन्छ । संवादको वातावरण बनाउनुस् । उहाँहरूलाई पनि छलफलमा ल्याउने, बजेटमा आफ्ना धारणा राख्ने वातावरण बनाउनुस्,' उनले भने ।

Today in Parliament: RPP surrounds Well, boycotts RPP while Congress teaches moral lessons

बैठकमा बोल्ने एमाले र कांग्रेसका सांसदहरूले भने वेलमा नाराबाजी गरिरहेको रास्वपाको आलोचना गरे‍का थिए । एमाले सांसद भीम आचार्यले वेलमा रास्वपाले गरेको नाराबाजीलाई 'मिठो धुन' को संज्ञा दिए । 'वेलमा रास्वपाले मिठो धुन बजाएर मेरो बोलिमा सहयोग गर्नुभएको छ । एकछिन बसेर आराम पनि गर्नुभएको छ,' उनले भने । आफ्ना विषयवस्तु सदनमा राखिसकेकाले बजेटमाथिको छलफलमा सहभागी हुन उनको आग्रह थियो । संसद्को अंकगणितले मात्रै सरकार गठन हुने र ढल्ने स्मरण गराउँदै आचार्यले वेलबाट नारा लगाएर नहुने बताए ।  

संसद्को ठूलो दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने नैतिकताको प्रश्न गृहमन्त्री लेखकमाथि उठाउनु पहिला आफ्ना सभापतिको नैतिकता देखाउन भन्दै रास्वपालाई प्रश्न गरे । 'अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिको पदमा रवि लामिछाने, जो जेलमा हुनुहुन्छ, ५ वटा मुद्दा उहाँमाथि छ । उहाँ नै अहिले पनि त्यसको निर्वाचन आयोगको अभिलेखमा सभापति पदमा हुनुहुन्छ । त्यो पार्टीले अहिले नैतिकताको पाठ कसैलाई सिकाउन मिल्छ कि मिल्दैन ?,' घिमिरेले भने, 'अरूसँग नैतिकता खोज्ने साथीहरूले आफैँभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न म आग्रह गर्छु । रास्वपाको संसदीय दलको नेतासमेत परिवर्तन भएको कुरा बाहिरिएको छैन ।' सांसदबाट निलम्बित भइसकेको व्यक्तिलाई संसदीय दलको नेता मानेर अरुलाई नैतिकता सिकाउनु कति जायज हो भन्ने घिमिरेको प्रश्न थियो । 

'म सभामुखसँग सोध्न चाहन्छु संसद् अवरुद्ध कुन अवस्थामा बन्छ ? कुनै पार्टी उभिइरहँदा संसद् अवरुद्ध हुने अर्को पार्टी वेलमा नाराबाजी गर्दा संसद् अवरुद्ध नहुने ? म परिभाषा खोजिरहेको छु,' आजपा अध्यक्ष प्रभु साहको यो प्रश्न सुनेपछि सभामुख घिमिरेले कार्यसूचीमाथि धारणा राख्न निर्देशन दिएका थिए । 

बोल्नका लागि सांसद रोस्ट्रममा जाँदा र फर्किँदा वेल घेराउमा रहेका सांसदले गर्दा अप्ठ्यारो परिरहेको थियो । वक्ता सांसदलाई रोस्ट्रममा आउन र फर्किनको लागि वातावरण बनाइदिन भन्दै सभामुखले आग्रह गरिरहेका थिए । 

जयसिंह महरा महरा विगत ९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी राजनीतिक घटनाक्रम तथा संसदीय मामिलाका समाचार लेख्छन् ।

Link copied successfully