सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सुरू

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

Parliamentary hearing of three judges of the Supreme Court and a member of the Judicial Council has started

काठमाडौँ — सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको छ। शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको हो।

बैठकमा बोल्दै संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले ‘संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८०’ को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिहरूका सन्दर्भमा सर्वसाधारणलाई जानकारी दिन तथा कुनै सूचना वा उजुरी भए समिति समक्ष बुझाउन सूचनालाई सरकारी सञ्चारमाध्यम तथा विद्युतीय सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्ताव समितिबाट सर्वसम्मतिले पारित गरिएको थियो।

सभापति न्यौपानेले भनिन्, ‘संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिहरूका सन्दर्भमा कुनै सूचना वा उजुरी भए, त्यसलाई बुझाउन सूचनालाई सञ्चारमाध्यमबाट सार्वजनिक गर्न प्रस्ताव गर्दछु।’

समितिमा आज तीन जना सर्वोच्च अदालतका न्यायाधीश र एक जना न्याय परिषद्को सदस्य नियुक्तिबारे संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ भएको हो। न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस भएका छन्।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ।

कान्तिपुर

Link copied successfully