जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

Chitwan District Cricket Association President Sudeep Piya passed away

काठमाडौँ — चितवन जिल्ला क्रिकेट संघ (क्यान) का अध्यक्ष सुदीप पियाको निधन भएको छ। भरतपुर महानगरपालिका–१, नारायणगढस्थित घरमै उनको मृत्यु भएको क्यान चितवनका सचिव सुरज ज्ञवालीले जानकारी दिए । उनको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ।

पोस्टमार्टमका लागि उनको शव भरतपुर अस्पताल लगिँदै गरेको ज्ञवालीले जानकारी दिए।

४८ वर्षीय पिया २०८० साउनमा क्यान चितवनको अध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि उनी कार्यवाहक अध्यक्ष थिए। पियाले चितवनमा रही नयाँ क्रिकेट खेलाडी उत्पादन तथा यसको विकासका लागि महत्त्वपूर्ण कार्य गर्दै आएका थिए। उनले नारायणगढमा क्याफे पनि सञ्चालन गर्दै आएका थिए। विगतमा चितवनको सिनर्जी एफएममा सञ्चारकर्मीका रूपमा समेत कार्य गरेका थिए।

पियाका एक छोरा र एक छोरी छन्। मृतक पियाका भाई र आमा भारतबाट नेपाल आउँदै छन्। देवघाटमा उनको दाहसंस्कार गरिने सचिव ज्ञवालीले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully