कास्की — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी महाधिवेशनबाट एमालेको नेतृत्वमा आउने चर्चाबीच स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान पदाधिकारीमा नेतृत्व गर्नसक्ने सामर्थ्य रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री अधिकारीले भण्डारी एमालेको नेतृत्वमा आउन नहुने पक्षमा उभिए । भण्डारीको नाम नलिई उनले एमालेभित्र केपी ओलीपछि विद्यमान पदाधिकारी नै अध्यक्ष बन्न योग्य रहेको बताए । ‘नेकपा एमालेमा नेतृत्व गर्नसक्ने सामर्थ्य केपी ओलीपछि विद्यमान नेतृत्व पंक्तिभित्र जति पनि हुनुहुन्छ । उहाँहरू सबैलाई सलाम छ,’ उनले भने । एमाले एकताबद्ध भएर अगाडि बढ्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई राष्ट्रियताको पहरेदारको रूपमा व्याख्या गर्दै उनले ओली एमालेको मात्र नभई सिंगो देशकै नेता भएको जिकिर गरे ।
