लिमी वन क्षेत्रमा जडीबुटी संकलन र चरनका लागि ३ वर्ष प्रतिबन्ध

जेष्ठ ३१, २०८२

तृप्ति शाही

3 years ban on herb collection and grazing in Limi forest area

वीरेन्द्रनगर — हुम्लाको नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका क्षेत्रको वन प्रवेशमा रोक लगाइएको छ । जडीबुटी संकलन र पशु चराउने कार्यमा ३ वर्षसम्म प्रतिबन्ध लगाइएको वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । 

वडाभित्रको वन क्षेत्रको प्राकृतिक सम्पदा, जडीबुटी र वनस्पतिको संरक्षण र व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको उनले बताए । वडा बाहिरका मानिस आएर जथाभाबी जडीबुटी संकलन गर्ने, वनमा पशुबस्तु चराउने कार्य बढेको हुँदा वडाले यो कार्य रोक्न खोजेको उनको भनाइ छ ।

वनमा भेडा, बाख्रा, चौंरी लगायतका पशुबस्तु चराउन बन्द गरिएको छ । उनले भने, ‘वन क्षेत्र, जडीबुटी उत्पादन हुने स्थान तथा संरक्षित क्षेत्रमा चरनका लागि वडाबाहेक अन्य सबैका लागि पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । जेठ २८ गतेबाट तीन वर्षसम्मका लागि जडीबुटी संकलन गर्ने, टिप्ने खन्ने वा व्यापारिक प्रयोजनका लागि लैजाने कार्यमा रोक लगाइएको छ ।’

निर्णय उल्लंघन गर्ने जो कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने वडाध्यक्ष तामाङले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully