कुटनीतिक ‘इन्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री राणा

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

We have increased diplomatic 'engagement', the results are good: Foreign Minister Rana

काठमाडौँ —  परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कुटनीतिक सक्रियताका साथ ‘इन्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा गर्न सकिने बताएकी छिन् ।

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउँदै  आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नेपालका मित्रराष्ट्रहरु तथा विश्व समुदायसँग कुटनीतिक सक्रियता बढाएको बताएकी हुन् । 

'कुटनीति भनेको एउटा प्रक्रिया हो । आजको आजै यसबाट प्रतिफल हात लागिहाल्ने पनि होइन । विश्व समुदाय, अन्तर्राष्ट्रिय मञ्चहरू तथा द्विपक्षीय एवं बहुपक्षीय भेटहरुमा नेपालको सहभागिता र संलग्नतालाई बढाई आफ्ना एजेण्डा स्थापित गर्ने प्रयास गरिरहेका छौँ । मलाई विश्वास छ प्रतिफल राम्रै निस्कनेछ,' उनले भनिन् । 

सांसदहरूका प्रश्नको जवाफमा मन्त्री  राणाले सगरमाथा संवादको आयोजना गरेर जलवायु परिवर्तनका कारण समस्यामा परेको नेपालले यससम्बन्धी आफ्नो एजेण्डालाई विश्व समुदायमा स्थापित गर्ने काम गरेको बताइन् । ‘कोप ३०’ देखि आगामी दिनमा विश्वमा आयोजना हुने जलवायु सम्बन्धी कार्यक्रमहरुमा सगरमाथा संवादमार्फत् पारित कार्ययोजनालाई नै अघि सारिने जानकारी दिँदै मन्त्री राणाले सगरमाथा संवादमा नेपालका छिमेकी राष्ट्र भारत र चीनलगायतका कैयौँ देश र अन्तर्राष्ट्रिय संघसंगठनहरुको सहभागिता एवं नेपालको एजेन्डामा साथ र सहयोग गर्ने प्रतिबद्धता पनि नेपालको कूटनीतिक उपलब्धि भएको बताइन् ।

नेपालको श्रम गन्तव्य नरहेका र अवैध रुपमा विदेश पुगेका नेपालीहरुका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा काम अघि बढाइएको जानकारी पनि उनको भनाइ छ । मन्त्री राणाले विश्वका कुनै पनि मुलुकमा रहेका नेपाली नागरिकहरुलाई आवश्यक सेवाका लागि पासपोर्ट तथा कन्सुलर सेवाका टोलीहरू नै खटाएर सेवा दिइएको बताइन् । 

कान्तिपुर

Link copied successfully