काठमाडौँ — विपक्षी दलहरू रास्वपा र राप्रपाको अवरोधका बीच सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु गरेका छन् । सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल माओवादीबीच भिजिट भिसा प्रकरणको छानबिन र प्रतिनिधिसभाको अवरोध खुलाउने सहमति भए पनि रास्वपा र राप्रपाले भने विरोध जारी राखेका छन् ।
राप्रपा र रास्वपा सांसदहरूले ढ्यापढ्याप टेबल बजाइरहेका छन् । सभामुख घिमिरेले आलोपालो सबै दललाई बोल्न समय दिइने बताए पनि रास्वपा र राप्रपा सांसदले अवरोध जारी राखेका हुन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बोलिरहँदा दुई दलका सांसदले भने विरोध जारी राखेका छन् ।
शुक्रबार दिउँसो प्रतिनिधि सभाको अवरोध अन्त्य गरी बैठक सुरु गर्न सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सहमति गरेका थिए । तर रास्वपा र राप्रपाले भने सदनमा अवरोध जारी राखेका छन् ।
सहमतिमा सत्ता पक्ष र माओवादीबीच भिजिट भिसा प्रकरणको छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले सरकारले सहयोग गर्ने उल्लेख छ । त्यस्तै अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने पनि सहमतिमा उल्लेख छ ।
यसअघि यस प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बन्नुपर्ने मागमा एकठाउँ उभिएका विपक्षी दल शुक्रबारदेखि भने दुई कित्तामा उभिएका छन् । रास्वपा र राप्रपाले भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् ।
