२४२ यात्रुसहित एयर इन्डियाको विमान दुर्घटना

उड्डयन प्राधिकरणको नियमन, एयरलाइन्स कम्पनीको सावधानी र विमान निर्माता कम्पनीको जवाफदेहितामाथि विश्वभर फेरि बहस

जेष्ठ ३०, २०८२

उपेन्द्रराज पाण्डेय

Air India plane crash with 242 passengers

काठमाडौँ — भारतमा दशकयताकै ठूलो विमान दुर्घटना हुँदा २४१ जनाको शव भेटिएका छन् । अहमदाबादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार लन्डनको ग्याटविक विमानस्थल जान २३० यात्रु र १२ कर्मचारी लिएर उडेको एयर इन्डियाको विमान धावनमार्गबाट ‘टेकअफ’ गरेलगत्तै नजिकैको मेडिकल कलेजको होस्टलमा बजारिन पुगेको थियो । विमानका एक यात्रु जीवितै भेटिएका छन् भने होस्टलका केही विद्यार्थीको मृत्यु भएको छ र केही घाइते भएका छन् । 

उडान नम्बर एआई–१७१ को भीटी–एएनबी ‘रजिस्ट्रेसन’ रहेको बोइङको ड्रिमलाइनर ७८७ विमान होस्टलको भवनमा बजारिएर दुई टुक्रा भएको थियो । विमानको अगाडिको भाग भुइँमा खसेर आगो लागेको थियो । पछिल्लो हिस्सा भने भवनमै अड्किएको छ । पौने १० घण्टा उडानका लागि विमानले १ लाख २५ हजार लिटर इन्धन बोकेको थियो ।

विमान ठोकिँदा बीजे मेडिकल कलेजको होस्टलमा विद्यार्थी खाजा खाइरहेका थिए । होस्टलमा विमान ठोकिएका कारण विमानमा रहेका यात्रु, कर्मचारी र चालकदलका सदस्य भन्दा बाहेक कति जना हताहत भए भन्ने आधिकारिक विवरण आइसकेको छैन । 

एयर इन्डियाको स्वामित्वमा रहेको टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले साँझसम्म दुर्घटनाको कारण पत्ता नलागेको बताएका छन् । उनले जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही १ करोड भारतीय रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने जानकारी गराएका छन् । त्यस्तै सबै घाइतेको उपचार खर्च बेहोर्ने पनि उनको भनाइ छ ।

विश्वभर विमानको ‘लाइभ ट्र्याकिङ’ गर्ने अनलाइन पोर्टल ‘फ्लाइटराडार २४’ का अनुसार उडान भरेको एक मिनेटमै जहाजको सिग्नल हराएको थियो । ६२५ फिटको उचाइमा पुग्नेबित्तिकै जहाज दुर्घटनामा परेको हो । पाइलटले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे’ भनेर कलसमेत गरेका थिए । ‘एयर ट्राफिक कन्ट्रोल’ ले त्यसमा तत्काल प्रतिक्रिया जनाए पनि त्यसपछि कुनै जवाफ नआएको भारतको नागरिक उड्डयन नियमनकारी निकायले जनाएको छ । ‘मेडे’ उद्घोष अप्ठ्यारोमा परेका विमानले सहयोग माग्न प्रयोग गर्ने शब्दावली हो ।

विमान चालक सुमित सभरवाल र सहचालक क्लाइभ कुन्दरले उडाइरहेका थिए । सभरवालसँग ८ हजार २ सय घण्टा र कुन्दरसँग १ हजार १ सय घण्टाको उडान अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा परेको विमानमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । २ पाइलटसहित १२ जना ‘क्याबिन क्र’ सदस्य र २३० यात्रु थिए । तीमध्ये १६९ जना भारतीय हुन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।

बेलुकीसम्म विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि भएको अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले जानकारी दिएका छन् । प्रहरी आयुक्त मलिकले बीबीसी गुजराती सेवासँग भनेका छन्, ‘केही सर्भाइभर पनि हुन सक्छन् तर अहिलेसम्म हामीले २४१ वटा शव संकलन गरेका छौं ।’ 

विमानबाट उछिट्टिएर सकुशल रहेका यात्रु ४० वर्षीय बेलायती नागरिक विश्वासकुमार रमेशले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा आफू परिवार भेट्न केही दिनका लागि भारत आएर फर्कने क्रममा दुर्घटनामा परेको बताएका छन् । उनी दाजु अजयकुमार रमेशसँग बेलायत फर्कंदै थिए । उनले भनेका छन्, ‘टेकअफ भएको ३० सेकेन्डमै ठूलो आवाज आयो, म बेहोस भएँ, जहाज दुर्घटनामा परेछ, एकैछिनमा सब तहसनहस भएछ ।’

Air India plane crash with 242 passengers

भारतीय सञ्चारमाध्यमका अनुसार विश्वासको उपचार अहमदाबाद सिभिल अस्पतालमा भइरहेको छ । सिट नम्बर ११ ‘ए’ मा बसेका उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ । उनका दाजु अजय भने अर्कै लाइनमा बसेका थिए । दाजुको अवस्था कस्तो छ भन्ने अहिलेसम्म खुलेको छैन । बोर्डिङ पास साथमै राखेका उनी दुर्घटनापछिको हाल बताउँदै भन्छन्, ‘जब म ब्युँतिएँं, वरिपरि शवैशव देखें, जताततै जहाजको टुक्रैटुक्रा थियो । अत्तालिएँ, अनि उठेर भागें । त्यत्तिकैमा मलाई कसैले च्याप्प समातेर एम्बुलेन्समा राख्यो र अस्पताल लग्यो ।’

यो दुर्घटना भारतीय उड्डयनमा दशककै ठूलो हो । ७ अगस्ट, २०२० मा एयर इन्डियाकै जहाज केरलको कालिकट अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुदा १८ जनाको मृत्यु भएको थियो भने १७२ जना सकुशल रहेका थिए ।

करिब ३ वर्षअघि भारतीय ध्वजावाहक विमान सेवा कम्पनी एयर इन्डिया टाटा ग्रुपको स्वामित्वमा पुगेको थियो । २०२२ जनवरीमा भारत सरकारले एयर इन्डियाको स्वामित्व भारतको ठूलो औद्योगिक घराना टाटा ग्रुपलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो ।

करिब ६९ वर्षपछि एयर इन्डियाको स्वामित्व पुनः टाटाको हातमा पुगेको हो । सरकारले ७० हजार करोड घाटामा सञ्चालन भइरहेको एयर इन्डियालाई निजीकरण गर्ने फैसला गरेको थियो । त्यसअनुसार अक्टोबर २०२१ मा शतप्रतिशत सेयर टाटालाई बेचिएको थियो ।

उड्डयन सुरक्षा नेटवर्क डाटाबेसका अनुसार ड्रिमलाइनरसँग सम्बन्धित कुनै पनि घातक दुर्घटना आजसम्म रेकर्ड गरिएका छैनन् । बोइङले अप्रिल २०२५ मा जारी गरेको दुर्घटनाको वार्षिक सारांशअनुसार कुनै पनि ७८७ ड्रिमलाइन आर्थिक मर्मतभन्दा बाहिर नष्ट वा क्षतिग्रस्त भएका छैनन्, जसलाई उड्डयन उद्योगमा ‘हल लस’ भनिन्छ । ड्रिमलाइनरमा केही समस्या भने विगतमा पनि देखिएका थिए जसका कारण यात्रु घाइतेसमेत भएका छन् । 

गत नोभेम्बरमा चिलीको लाटम एयरलाइन्सको ७८७ उडानले ‘क्रुज’ मा हुँदा अचानक तल झरेको थियो, जसका कारण दुई यात्रु गम्भीर घाइते भएका थिए । बेलाबेलामा ड्रिमलाइनरको सुरक्षालाई लिएर ‘ह्विसल–ब्लोअर्स’ ले गम्भीर प्रश्न उठाउने गरेका छन् । अमेरिकाको संघीय उड्डयन प्रशासनले अप्रिल २०२४ मा ७८७ ड्रिमलाइनरका कतिपय भागहरू सही तरिकाबाट नजोडिएको भन्ने ‘ह्विसल–ब्लोअर्स’ का दाबीको बोइङका इन्जिनियरले सूक्ष्म अध्ययन गरिरहेको बताएको थियो । 

बिहीबार एक विज्ञप्तिमा बोइङले एयर इन्डिया दुर्घटनाका बारेमा थप जानकारी संकलन गर्न काम गरिरहेको बताएको छ । विमान दुर्घटना भएसँगै न्युयोर्क स्टक एक्सचेन्जमा बोइङको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

मृत्यु हुनेमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि

बिहीबारको दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणीको निधन भएको छ । रूपाणीको निधन केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् । रूपाणी पत्नी र छोरीलाई भेट्न लन्डन जाँदै थिए ।

Air India plane crash with 242 passengers

भाजपाका वरिष्ठ नेता सुनील जाखडले रूपाणीको निधनमा शोक व्यक्त गर्दै भनेका छन्, ‘रूपाणीजीले गुजरातका मुख्यमन्त्रीका रूपमा दिएको योगदान सधैं स्मरणीय हुनेछ । उहाँ विनम्र, संवेदनशील र डाउन टु अर्थ नेता हुनुहुन्थ्यो ।’

गुजरातले एक महान् नेता गुमाएको पनि उनको भनाइ छ । रूपाणी २०१६ देखि २०२१ सम्म गुजरातका मुख्यमन्त्री थिए । त्यसअघि उनी गुजरात सरकारका मन्त्री थिए । उनी २००६ देखि २०१२ सम्म राज्यसभा सदस्य थिए । रूपाणी पछिल्लो समय भाजपाका पञ्जाब इन्चार्जका रूपमा कार्यरत थिए । 

भारतमा भएका ठूला विमान दुर्घटना

- २२ मे २०१० : एयर इन्डियाको दुबई–मेंग्लोर उडान मेंग्लोर विमानस्थलमा ओभरसुटका क्रममा दुर्घटना हुँदा १५८ को मृत्यु, ८ जनाको जीवितै उद्धार 

- १७ जुलाई २००० : अलायन्स एयरको जहाज पटनाको आवासीय क्षेत्रमा दुर्घटना हुादा ५५ यात्रुसहित जमिनमा रहेका ५ जनाको मृत्यु

- १२ नोभेम्बर १९९६ : हरियाणामा साउदी अरेबियन एयरलाइन्स र कजाकास्तान एयरलाइन्स ठोक्किँदा 

३४९ जनाको मृत्यु 

- २६ अप्रिल १९९३ : इन्डियन एयरलाइन्सको विमान औरंगाबादमा दुर्घटना हुादा ५५ जनाको मृत्यु,  ६६ जना घाइते

- १४ फेब्रुअरी १९९० : इन्डियन एयरलाइन्सको जहाज बेंग्लोर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुादा ९२ जनाको मृत्यु

- १६ अगस्ट १९९१ : इन्डियन एयरलाइन्सको विमान खराब मौसमका कारण इम्फालको पहाडमा ठोकिँदा ६९ जनाको मृत्यु

- १९ अक्टोबर १९८८ : इन्डियन एयरलाइन्सको विमान अहमदाबाद विमानस्थलमा दुर्घटना हुँदा १३३ जनाको मृत्यु 

- २२ जुन १९८२ : एयर इन्डियाको विमान मुम्बईमा दुर्घटना हुँदा १७ को मृत्यु र ९४ जना बाँच्न सफल 

- १ जनवरी १९७८ : मुम्बईको बान्द्राको समुद्री किनार एयर इन्डियाको विमान दुर्घटनामा २१३ जनाको मृत्यु

- १२ अक्टोबर १९७३ : इन्डियन एयरलाइन्सको विमान दिल्ली विमानस्थलमा दुर्घटना हुँदा ४८ को मृत्यु, १७ जना घाइते भएका थिए

- १४ जुन १९७२ : दिल्ली विमानस्थलनजिकै जापान एयरलाइन्सको विमान दुर्घटना हुँदा ८२ जनाको मृत्यु

- २८ जुलाई १९६३ : युनाइटेड अरब एयरलाइन्सको विमान मुम्बई विमानस्थलमा दुर्घटना हुँदा ६३ जनाको मृत्यु

- ७ जुलाई १९६२ : अल्टिलियाको विमान मुम्बईको उत्तरी भेगमा दुर्घटना पर्दा ९४ जनाको मृत्यु

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully