४ न्यायाधीश उच्च अदालतको मुख्य न्यायाधीशका लागि नियुक्ति सिफारिस

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

4 Judges Recommend appointment for Chief Justice of High Court

काठमाडौँ — न्याय परिषद्‌ले उच्च अदालतको मुख्य न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्‌को बैठकले चार न्यायाधीशलाई सिफारिस गरेको हो ।

न्यायाधीश राजनप्रसाद भट्टराई (उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज) लाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशका लागि सिफारिस गरिएको छ । न्यायाधीश लालबहादुर कुँवर (उच्च अदालत पाटन) लाई उच्च अदालत पाटनमै, उच्च अदालत तुलसीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारी (उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगा) लाई उच्च अदालत सुर्खेतका लागि र न्यायाधीश राजेश्वर तिवारी (उच्च अदालत तुलसीपुर, बुटवल इजलास) लाई उच्च अदालत तुलसीपुरका लागि मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।

यस्तै, परिषद्‌ले वैदेशिक रोजगार न्यायाधिकरणमा काजमा रहेका न्यायाधीश गोकर्ण डाँगी (उच्च अदालत दिपायल) लाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगज्न सरुवा गरिएको छ । न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत पाटन, हेटौंडा इजलासमा कार्यरत न्यायाधीश शान्ता सेढाई सापकोटालाई तोक्न सिफारिस गर्ने पनि परिषद्‌ले निर्णय गरेको छ । 

कान्तिपुर

Link copied successfully