भिजिट भिसा प्रकरणमा छानबिनको लिखित सुनिश्चितता गर्न विपक्षीको माग, सत्तारूढ दल छलफलमा

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Opposition's demand for written assurance of investigation in visit visa case, ruling party in discussion

काठमाडौँ — भिजिट भिसा प्रकरणको न्यायिक वा संसदीय छानबिनको लिखित रुपमा सुनिश्चितता गरेर संसद्को अवरोध हटाउन विपक्षी दलहरूले सत्तापक्षलाई भनेका छन् । विपक्षीको प्रस्तावपछि सत्तारूढ कांग्रेस र एमालेका नेताहरू छलफलमा छन् । 

बिहीबार ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा दलहरूबीच सहमति नजुटेपछि विपक्षी दलहरू माओवादी, रास्वपा, एकीकृत समाजवादी लगायतका नेताहरू बसेर सत्तापक्षसँग छानबिनको लिखित सुनिश्चितता माग गरेमा हुन् । 'आजको विपक्षी दलहरूको बैठकपछि लिखित रुपमा छानबिन तथा अध्ययनको सुनिश्चितता माग गरेका छौं । प्रमुख प्रतिपक्षी दलका नेताले विपक्षी दलहरूको तर्फबाट छानबिनको लिखित सुनिश्चितता माग गरेका हौं । सत्तारूढ दलको प्रतिक्रिया पर्खिइरहेका छौं,' माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

छानबिन वा अध्ययनका लागि सरकारले लिखित रुपमा सुनिश्चितता गर्नुपर्ने माग सत्तारुढ दलहरूसमक्ष विपक्षीले राखेका हुन् । अख्तियारले गरिरहेको अनुसन्धानबाहेक न्यायिक वा संसदीय छानबिन हुने लिखित रुपमा सुनिश्चितता गर्नुपर्ने विपक्षीहरूको माग छ ।

विपक्षीको प्रस्तावपछि सत्तारूढ दलहरू एमाले र कांग्रेसका नेताहरू संसद् भवनमै बैठक बसेका थिए । उक्त बैठकपछि फेरि सत्तारूढ र विपक्षी दलहरूको बैठक बस्ने छ ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले सभामुख देवराज घिमिरेलाई भेटेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully