साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री राणा

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Partnership and connectivity are the basis of Nepal-India common prosperity: Foreign Minister Rana

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल-भारतबीचमा विभिन्न क्षेत्रमा हुन सक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छन्। नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राणाले  नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीब्रता दिई कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन्।

नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत् समृद्धिमा रूपान्तरण गर्ने समय आएको प्रसंग उल्लेख गर्दै उनले भनिन्, 'म एउटा यस्तो भविष्यको प्रतिक्षामा छु कि जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बईको बजारमा पुग्छ र एक भारतीय पर्यटक दिल्लीमा बिहानको बैठक सकेर साँझको उडानमा पोखरा पुग्छ । यो त्यस्तो निकटता होस् कि दुई देशका नागरिकको आर्थिक समृद्धिको आधार बनोस् ।'

नेपाल–भारत सम्बन्ध सभ्यताको सुरुवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसंग उल्लेख गर्दै मन्त्री राणाले हाम्रा नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरुबीचको जनसम्पर्क, सहकार्य र कनेक्टिभीटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने बताइन्। 

नेपाल र भारतले सडक, रेलवे, जलमार्ग, हवाई मार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा उनको जोड थियो। मन्त्री राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन्। 

कान्तिपुर संवाददाता

Link copied successfully