पर्सा — कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि दुर्व्यवहार भएको छ । धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) का कार्यकर्ताले बिहीबार दिउँसो करिब ४ बजे इजलासमै कालोमोसो छ्यापेर दुर्व्यवहार गरेका हुन् ।
घटनामा संलग्नताको आरोपमा ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका अविनाश भन्ने किशोर कुमार छन् । उनीहरूले सामाजिक सञ्जालबाट मोसो छ्यापेको लाइभसमेत गरेका थिए । त्यसपछि इजलासबाट बाहिरिएका तीनै जनालाई अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी किशोर लम्सालका अनुसार पार्टीको निर्देशनमा आएको बताउँदै उनीहरू इजलासमा प्रवेश गरेका थिए । त्यसपछि कफी खाने मगमा ल्याएको मसी न्यायाधीशद्वयलाई छ्यापेका थिए । ‘उनीहरूले न्यायाधीशद्वयको न्याय प्रक्रियामा चित्त नबुझेकाले पार्टीको निर्देशनअनुसार आएका हौं भनेका छन्,’ डीएसपी लम्सालले भने, ‘न्यायाधीशद्वय नियमित पेसीमा रहेको मुद्दाको बहस सुनेपछि आदेश दिने प्रक्रियामा संलग्न हुनुहुन्थ्यो ।’
गत जेठ १४ मा थारू र महर्जनको इजलासले रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई सफाइ दिएको थियो । जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर दिइएको उक्त आदेशपछि ललितपुरस्थित नख्खु कारागारमा रहेका आलम छुटेका थिए । रौतहटको राजपुरमा भएको घटनामा आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी थिए ।
