पूर्वपश्चिम रेलमार्ग : बर्दिबासका १४ घरलाई मुआब्जा दिन विशेष समिति गठन हुने

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

East West Railway: A special committee will be formed to compensate 14 houses of Bardibas

काठमाडौँ — पूर्वपश्चिम रेलमार्गमा परेको महोत्तरी बर्दिबासको १४ घरको मुआब्जाका लागि विशेष समिति गठन गर्ने सहमति भएको छ। 

बिहीबार काठमाडौंस्थित भौतिक पूर्वाधार मन्त्रालयमा मुआब्जा पीडित र सरकारी अधिकारीबीच भएको छलफलमा लामो समयदेखि मुआब्जाबाट वञ्चित बर्दिबासको १४ घर परिवारलाई मुआब्जा दिन विशेष समिति गठन गर्ने निर्णय भएको हो । 

छलफलमा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र सचिवको उपस्थिति थियो । विशेष समितिले दिएको सुझावअनुसार १४ घर परिवारलाई मुआब्जा दिन सिफारिस गरिनेछ । 

यस्तै, बर्दिबास र भाँगहका पीडित किसानलाई मुआब्जा तुरुन्तै उपलब्ध गराउने सहमति भएको छ । यस विषयमा शुक्रबार रेल विभागका महानिर्देशक अजय मूलसँग थप छलफल हुनेछ । 'त्यो छलफलबाट बर्दिबास र भंगहाका किसानलाई मुआब्जा वितरणका लागि प्रतिबद्धताको अपेक्षा गरेका छौं,' किसान उद्धव बुढाथोकीले भने । शुक्रबार सहमति भए मात्र काठमाडौंबाट फर्किने नत्र रेल विभाग घेराउ गरिने उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully