विमान अपहरणको ५२ वर्ष : विनोद अर्यालको क्रान्ति उडान 

सुशील कोइराला, चक्र बास्तोला, मनोहरि बराल जस्ता नेताहरू पनि विनोद झैँ क्रान्तिमा समाहित थिए । त्यो अपहरणमा परेको जहाज १२ वर्ष अघि नै हराइसकेको छ । उनका धेरै सहयोद्धाहरू दिवंगत भइसके । तर विनोद अर्याल भने पुराना सम्झनाहरू साँचेर बसिरहेका छन्

जेष्ठ २९, २०८२

पर्वत पोर्तेल

52 Years of Hijacking: Vinod Aryal's Revolutionary Flight

विराटनगर — २०३० जेठ २८ गतेको बिहान, अर्थात् आजकै दिन । विराटनगर विमानस्थलको आकाशमा चर्को घाम लागेको थियो। नेपालको राजनीतिमा प्रजातन्त्रको चाहनाले उर्लिरहेको त्यो समय, हरेक युवा मनमा विद्रोहको ज्वारभाटा थियो । त्यही विद्रोहका एक क्रान्तिकारी पात्र थिए,  विराटनगरका विनोद अर्याल । ऊ बेला ३० वर्ष आसपासका निडर र साहसी युवा थिए ।

त्यो बिहान उनी अरू केही सहयोद्धाहरुसंगको एउटा ‘स्पेसल टास्क’ पूरा गर्ने अन्तिम तयारीमा थिए। त्यो एक साहसी अपहरण काण्ड थियो। जुन दक्षिण एसियाकै इतिहासमा पहिलो विमान अपहरणको रूपमा चर्चित छ। ‘त्यो योजना कुनै लोभको लागि थिएन, प्रजातन्त्र पुनः स्थापनाका लागि थियो’, उमेरले ९० आसपास पुग्न लागेका अर्यालले सुनाए, ‘कांग्रेसले थालेको सशस्त्र क्रान्तिका निरन्तरता थियो । राजतन्त्र विरुद्धको एउटा क्रान्ति थियो ।’ 

काठमाडौँबाट आएर ल्यान्ड भएपछि पुनः काठमाडौँ फर्किने तयारीमा थियो, नेपाल वायुसेवा निगमको ट्विनअटर विमान ९–एनएबीबी । विराटनगर विमानस्थलमा जहाज स्टार्ट हुँदै थियो ।  त्यो जहाजमा अरू सँगै थप तीन जना यात्रु चढे । उनीहरू थिए, दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेल ।

विमान भित्रको अर्को योजना चाहिँ फत्ते गर्ने जिम्मेवारी चाहिँ विनोद अर्यालको काँधमा थियो । त्यसैले उनी केही सहयोद्धाहरूको साथ लागेर पहिल्यै फारबिसगन्जतिर लागेका थिए । फारबिसगन्जमा जहाज ल्यान्डको प्रतीक्षामा थियो। किन कि जहाज अवतरण गरेपछि रकम सुरक्षित उतार्ने जिम्मेवारी उनका काँधमा थियो ।

काठमाडौँका लागि उडेको जहाजले प्रायः सधैँ जसो बैंकको रकम काठमाडौँ पुर्‍याउने गर्थ्यो । जहाज उड्यो । केही मिनेटमै दुर्गा सुवेदी ककपिटतिर छिरे । अनि हातमा रिभल्भर देखाउँदै पाइलटहरूलाई भने, ‘बुझ्नु भो, हाइज्याक भनेको यही हो ।’  पाइलट आरके मानन्धर, सहचालक श्रीदेव वैद्य र चालक दलका जीवी राईलाई स–सम्मान निर्देशन दिएपछि चालक दलले पश्चिमतिर उडेका जहाज  पूर्व–दक्षिण हुँदै भारतको आकाशतर्फ मोडियो ।

फारबिसगन्ज नजिक विमानस्थल थिएन । तर, कांग्रेस कार्यकर्ताहरूले खुला घाँसे मैदानमा जहाज ल्यान्डको तयारी गरे । जहाँ चुनाले कोरेर अवतरण मार्ग बनाइएको थियो । दुर्गाले अवतरण मार्ग देखाएपछि विमान अन्ततः त्यही मैदानमा अवतरण गरियो । जहाज अवतरण भयो । जसै एउटा जिप गुड्दै विमान भएतिर गयो । जिपमा पाँच–सात जना मानिसहरू थिए । तर, जिपबाट  विनोद मात्रै निस्किए । उनको  अनुहार आधा छोपिएको थियो । देब्रे हातमा रिभल्भर थियो । अपहरण गर्नेहरू ओर्लिएपछि विनोद अर्याल जहाजभित्र छिरे ।

उनले पाइलटतिर इशारा गर्दै भने,‘काम सकिने बित्तिकै इसारा गर्छु, विमान उडाउनू, नत्र जहाज पड्काइदिन्छौ ।’ जहाजको अगाडिपट्टि राखिएका बाकस निकाले । ३० लाख भारतीय रुपैयाँ रहेका ती बाकस निकालेपछि विनोदले रिभल्भर घुमाउँदै भने,‘अब जान सक्नु हुन्छ ।’ क्षणभरमै जहाज पुनः आकाशतिर उक्लियो  । ‘त्यो क्षण मैले कुनै डकैत गरेको हैन’, आँटिला विनोद विमान अपहरणको त्यो पल सम्झिन्छन्, ‘राजनीतिक क्रान्तिका लागि सघाएको हुँ ।’ 

घटनापछि भारत–नेपाल दुवै देशका सुरक्षा निकाय चकित भए । तर त्यस दिनको शान्त बिहानले नेपाली इतिहासमा एउटा अकल्पनीय मोड लिएको विनोद सम्झन्छन् । उक्त घटनापछि विनोद भारतमा पक्राउ परे । उनले भारतीय जेलमा केही वर्ष  बिताए । तर त्यो जेल नेल र प्रताडनालाई पनि उनले ‘क्रान्तिको मूल्य’ भनेर सहजै स्वीकारे ।

सुशील कोइराला, चक्र बास्तोला, मनोहरि बराल जस्ता नेताहरू पनि विनोद झैँ क्रान्तिमा समाहित थिए । त्यो अपहरणमा परेको जहाज १२ वर्ष अघि नै हराइसकेको छ । उनका धेरै सहयोद्धाहरू दिवंगत भइसके । तर विनोद अर्याल भने पुराना सम्झनाहरू साँचेर बसिरहेका छन् । ‘त्यो घटना अहिले सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ’, विनोदले भने,‘कुन ऊर्जाले त्यो कदम चालियो होला? सम्झेर ल्याउँदा छक्क पर्छु अहिले ।’ 

३० लाख भारु बोकेर उनीहरू सोझै बंगाल हुँदै सिलिुगडीबाट उत्तर मोडिए । पंखाबारीको सडक प्रयोग गरी दार्जिलिङ पुगे । दार्जिलिङका एनके शर्मालाई उक्त पैसा दिनु भन्ने बिपी कोइरालाको निर्देशन थियो । 

पत्रकार जगत नेपालका अनुसार, अपहरणको योजना बनाउने क्रममा बिपी पुत्र प्रकाश कोइराला व्यस्त थिए, जबकि उनका भाइ शेखर कोइराला त्यही ट्वीनअटरको टिकट काटेर काठमाडौँ उड्न लागेका थिए । अन्तिम क्षणमा टिकट रद्द नगरेको भए शेखर पनि अपहरणमा पर्ने पक्का थियो। त्यो बेला लुटिएको ३० लाख रुपैयाँले धेरै कुरा गर्न सकिन्थ्यो । घटनापछि बैङ्कहरूले ठुलो रकम ढुवानीमा विमानको साटो हेलिकप्टर चार्टर गर्न थाले । फारबिसगन्जमा विमान अवतरण भएर फर्किँदासम्म नेपाल र भारत-दुवै मुलुकका सुरक्षा निकायलाई सुइँकोसम्म थिएन। 

अपहरणका मुख्य योजनाकार गिरिजाप्रसाद कोइराला थिए। उनीसँग सुशील कोइराला, चक्र बास्तोला, मनोहरि बराल, मदन अर्याल आदि सक्रिय रूपमा संलग्न थिए। आज तीमध्ये गिरिजाप्रसाद, बराल, क्याप्टेन आर.के. मानन्धर र सहचालक श्रीदेव वैद्य दिवंगत भइसकेका छन्।

विनोद २००७ सालको सशस्त्र क्रान्तिका अग्र पङ्क्तिका लडाकु थिए । त्यसै आन्दोलनमा विस्फोटले उनको दायाँ हात गुम्यो । ट्विनअटर अपहरणबाट लुटिएको रकमले हतियार किनिएको विनोद बताउँछन् । त्यति बेला पूर्वी पाकिस्तान (आजको बंगलादेश) मा मुक्ति सङ्ग्राम जारी थियो।

चक्र बास्तोला, विनोद लगायतका नेताहरूले उक्त संग्रामलाई हतियार सहयोग गरे । नेपाली कांग्रेससंग हतियार भएको खुलासा भारतीय समाजवादी नेता जयप्रकाश नारायणसम्म पुगेको थियो । उनले बिपी कोइरालामार्फत बंगलादेशलाई सहयोग गरिदिन आग्रह गरे । ‘पहिला त गिरिजा बाबु राजी हुनुभएन,’ विनोद सम्झिन्छन्, ‘तर जयप्रकाशले ‘दोब्बर फिर्ता गरिदिन्छौ’ भन्ने ग्यारेन्टी दिएपछि मात्र सहमत हुनुभयो।’ त्यसपछि किनिएका सबै हतियार पुर्‍याउन चक्र बास्तोलालगायतका नेताहरूसहित उनी झापाको भद्रपुर पूर्व दक्षिण हुँदै बंगलादेश तिर लागे । 

गिरिजासँग निकटता पछि तिक्तता

विनोद गिरिजाबाबुका दाइने हात थिए। जहाँ जाँदा पनि विनोदलाई उनी सँगै लिएर जान्थे । ‘साँच्चै भन्ने हो भने म विना गिरिजाबाबु कतै हिँड्नु हुन्नथ्यो’, विनोदले भने। गिरिजा–विनोद साइनोले मामा भान्जा हुन्। गिरिजा मामा, उनी भान्जा। ज्यादै निकट गिरिजाबाबु–विनोदको सम्बन्धमा कालान्तरमा दरार उत्पन्न भयो। 

२००७ सालको क्रान्ति, ३० वर्षे पञ्चायत विरुद्ध हातेमालो गरेर क्रान्तिमा होमिएका उनीहरूबिचको सम्बन्धमा बहुदलपछि भने  तिक्तता उत्पन्न भयो। खास जड थियो, सांसदको टिकट। २०४८ को आम निर्वाचनमा विनोदले मोरङ ५ वाट उम्मेदवार बन्ने आकांक्षा राखे। उनी गिरिजाबाबुसँग भेट्न गए। तर, उनलाई टिकट दिइएन। त्यो पटक उनले ‘ठिकै छ’ भनेर चित्त बुझाए। 

तर, २०५१ को चुनावमा पनि उनलाई पन्छाउने प्रयत्न भयो । थारु समुदायबाट उम्मेदवार बनाएपछि विनोदले ‘विद्रोह’ गरे । उनलाई धेरै पटक सम्झाउने गिरिजाको प्रयत्न खेर गयो । विराटनगर आएका बखत उनले मोरङका सबै गाविस सभापतिहरूलाई कोइराला निवासमा डाके र विनोदलाई जसरी भए पनि हराउन ह्विप नै लगाए । गिरिजाले त्यो वेला भनेका थिए,‘विनोदले जित्नु भनेको मैले र  सिंगो पार्टीले हार्नु हो ।’ यति भनेपछि त विनोदलाई समस्या पर्ने नै भयो । 

विनोदलाई कोइराला परिवारकै एक्ला कम्युनिस्ट कमल कोइरालाले चाहिँ ढाडस दिएका थिए । तर, कमलको एक्लो प्रयत्नले पार लागेन । अन्ततः विनोदको लज्जाजनक हार भयो । त्यसपछि गिरिजासँगको तीतो सम्बन्धको ग्राफ अझै बढ्यो । ‘चुनाव लगत्तै बिरामी पनि भएँ त्यसपछि सक्रिय राजनीतिमा कहिल्यै रहर गरिनँ’, विनोदले भने,‘गिरिजाबाबुले सहयोग गरिदिएको भए आज पनि राजनीतिमै सक्रिय हुन्थे होला ।’  

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully