काठमाडौँ — भिजिट भिसा प्रकरणको छानबिन कसरी गर्ने भन्नेमा दलहरूबीच सहमति नहुँदा प्रतिनिधिसभा बैठक फेरि एकपल्ट सरेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३:१५ का लागि सारिएको सभामुखको सचिवालयले जनाएको छ ।
बुधबार प्रतिनिधिसभाको अवरोध खुलाउने बारेमा सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बसे पनि निष्कर्षबिना टुंगिएको थियो ।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरू पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।
