काठमाडौँ — एमाले सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पठाएको ५ बुँदे प्रस्तावमाथि छलफल नहुने बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाको उक्त ५ बुँदेमा कुनै हालतमा जान नसकिने बताउँदै माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत रहेको जिकिर गरेका हुन् ।
विपक्षी दलहरूले फेरि छलफलका लागि एक दिनको समय मागेका कारण बिहीबारको संसद् बैठक अलि ढिला बोलाइएको उनको भनाइ छ । उनले माओवादी केन्द्रको दुई बुँदे प्रस्तावमा विपक्षी दलहरूले सहमति जनाउन कोसिस गर्ने विश्वास व्यक्त गरे ।
'रास्वपाले पठाएको ५ बुँदेमा कुनै छलफल नै हुँदैन, त्यसमा जान सकिँदैन । हामीले माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ । विपक्षी दलले भोलि एक दिन फेरि छलफल गर्न समय माग गर्नुभएको छ । त्यस कारण संसद्को बैठक पनि अपराह्न ३ बजे राखिएको हो । माओवादीको दुई बुँदेमा, जुन हामीले पनि सहमति जनाएका छौँ, त्यसमा सहमति गर्ने कोसिस गर्नुहुन्छ होला । त्यो भएन भने लामो समय संसद अवरुद्ध हुन सक्दैन । संसद अगाडि बढ्छ,' उनले भने ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि माओवादी, रास्वपालगायत प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन् । सोही अनुसार बुधबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भयो । संसद्को गतिरोध अन्त्यका लागि रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छ ।
