खोटाङ — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले पूर्वराष्टपति विद्यादेवी भण्डारीले केपी ओलीलाई रिप्लेस गर्न राजनीतिक गतिविधि नगरेको बताएका छन् । बुधबार प्रेस चौतारी खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आउने र ओलीलाई रिप्लेस गर्ने कुरा अहिलेसम्म भनेको नसुनेको बताएका छन् ।
‘सक्रिय राजनीतिमा फर्किने र त्यसमाथि पनि पार्टी अध्यक्ष केपी ओलीलाई रिप्लेस गर्ने भनेको अहिलेसम्म सुनेको छैन,’ कोशी प्रदेशमा ६ दिनसम्म भण्डारीसँग सँगै हिडेका राईले भने,‘तर भोलि पार्टीले आवश्यकता ठान्यो भने, छलफलको विषय बन्यो, पार्टीले आग्रह गर्ने स्थिति बन्यो भने त्यो सन्दर्भमा उहाँ (भण्डारी)ले निर्णय गर्ने कुरा हो ।’
पूर्वराष्ट्रपति सक्रिय राजनीतिकर्मी भएकाले, राष्ट्र प्रमुख भएको नाताले देशको बारेका नेपाली जनताको बारेमा, अहिले भइरहेको गतिविधिको बारेमा चासो राख्नु स्वाभाविक भएको समेत राईले बताए ।
एमाले र अन्य राजनीतिक दलहरूलाई समेत सुझाव दिनु सान्दर्भिक भएको राईले बताए । त्यसै आधारमा धेरै मान्छेहरूसँग संवाद पनि भइरहेको राईले खुलासा गरे । राईले एमालेलाई चौतर्फी घेराबन्दी गरेर प्रहारको निसाना बनाइरहेकाले यसप्रति भ्रमित नहुनसमेत आग्रह गरे ।
गृहमन्त्री रमेश लेखकको बारेमा एमालेको धारणा के छ भन्ने विषयमा पत्रकारले गरेको जिज्ञासामा राईले भने,‘प्रश्न उठ्दैमा राजीनामा दिनु पर्दैन, कसैले उजुरी गरेको भए र छानविनको विषय बनेको भए अर्कै कुरा हुन्थ्यो ।’
पूर्वप्रधानमन्त्री माधव नेपालको सन्दर्भमा राजनीतिक पूर्वाग्रहले नभई प्रमाणकै आधारमा ठहराएकाले मुद्दा दायर भएको समेत राईले बताएका छन् । राईको प्रमुख आतिथ्यतामा भएको एमाले खोटाङको जिल्ला कमिटीको पूर्ण बैठक तथा खोटाङ जिल्ला समृद्धिचित्र निर्माण कार्यशालामा एमाले खोटाङ इन्चार्ज विशाल भट्टराई भने उपस्थित छैनन् ।
बुधबारको काठमाडौं–खानीडाँडा जहाज रद्द भएकाले कार्यक्रममा उपस्थित हुन नसकेको एमाले प्रदेश कमिटी सचिवालय सदस्य विणादेवी राईले बताइन् । उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू उषाकला राई, खगेन्द्र राई, एमाले प्रदेश कमिटी सचिव देवान राई, प्रदेश सचिवालय सदस्य विणादेवी राई, जिल्ला अध्यक्ष देवविक्रम राईलगायत जिल्लास्थित नेता कार्यकर्ता सहभागी छन् ।
