उपकुलपति कार्यालय तोडफोडमा संलग्न दुई जना पक्राउ
काठमाडौँ — असुरक्षा र तालाबन्दी गरेका कारण त्रिभुवन विश्वविद्यालयका पदाधिकारी दुई सातादेखि कार्यालय गएका छैनन् । जेठ १४ मा विभिन्न क्याम्पसमा नेविसंघबाट निर्वाचित स्ववियु अध्यक्ष, सचिवलगायतले उपकुलपति कार्यालय तोडफोड गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए । रेक्टर र रजिस्ट्रार कार्यालयमा पनि तालाबन्दी गरिएको छ ।
कार्यालय तोडफोड र तालाबन्दीका कारण निमित्त उपकुलपति खड्ग केसी, रेक्टर दुविनन्द ढकाल र रजिस्ट्रार केदार रिजाल कार्यालय जान सकेका छैनन् ।
उपकुलपति कार्यालयको मूलढोकामै तालाबन्दी गरिएकाले कर्मचारीहरू अर्को ढोका प्रयोग गरेर आउजाउ गर्ने गरेका छन् । ‘तोडफोड र तालाबन्दी गर्नेहरू यतै वरपर डुलेर हिँडिरहेका छन्,’ रजिस्ट्रार कार्यालयका एक कर्मचारीले भने, ‘सुरक्षाको व्यवस्था पनि छैन । कार्यालयमा ताला लगाएपछि पदाधिकारीहरू आउनुभएको छैन ।’
कार्यालयमा तालाबन्दीका कारण उपकुलपति र रजिस्ट्रारले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा बसेर प्रशासनिक कामकाज गर्दै आएका छन् । कार्यकारी परिषद्लगायत बैठक पनि त्यहीँ हुने गरेको छ । रेक्टर ढकाल भने मानविकी संकायको डिनको समेत जिम्मेवारीमा रहेकाले डिन कार्यालयमा बसेर दैनिक कार्यसम्पादन गर्छन् । ‘आवश्यक कागजात लिएर जान्छौं, कार्यालय नआए पनि काम अवरुद्ध भएको छैन,’ उपकुलपति कार्यालयका कर्मचारीले भने । निमित्त उपकुलपति केसीले भने तालाबन्दीका कारण कार्यालय गएर काम गर्न नसकेको बताए ।
शैक्षिक क्यालेन्डरअनुसार बन्द भएको स्नातक तहको भर्ना खुलाउन माग गर्दै स्ववियुमा आबद्ध १५/२० जनाको समूहले दुई साताअघि उपकुलपति कार्यालयमा तोडफोड गर्दै पदाधिकारीहरूको कार्यालयमा तालाबन्दी गरेको थियो । रजिस्ट्रार रिजालको कुर्सी नै नेविसंघका कार्यकर्ताले कार्यकक्षबाट झिकेर बाहिर फालेका थिए । प्रहरीले तोडफोडमा संलग्न मध्येका दिक्पाल कार्की र लोकेश कुँवरलाई मंगलबार पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले
भक्तपुरको सानोठिमीबाट कार्कीलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाए । कार्की सानोठिमी क्याम्पसका स्ववियु सचिव हुन् भने कुँवर शंकरदेवका विद्यार्थी हुन् । बोहराले भने, ‘एउटा समूहले तोडफोड गरेको उजुरी परेको थियो, भक्तपुरबाट समातेर ल्याएका छौं । अब म्याद थप गरेर मुद्दाको प्रक्रिया अघि बढ्छ ।’
विश्वविद्यालय र क्याम्पसमा विद्यार्थीबाट पटक–पटक तोडफोडका घटना हुँदै आए पनि राजनीतिक संरक्षणका कारण दोषीले उन्मुक्ति पाउँदै आएका छन् । यस पटक भने त्रिवि कार्यकारी परिषद्ले सार्वजनिक सम्पत्ति
तोडफोड गरी क्षति गर्नेलाई कारबाही गर्न प्रहरी वृत्त कीर्तिपुरमा उजुरी दिएको थियो । तर वृत्तले किटानी जाहेरी आवश्यक पर्ने भन्दै त्रिविलाई पत्राचार गरेको थियो । सत्तारूढ दलका विद्यार्थीहरू तोडफोडमा संलग्न रहेकाले कारबाही नभएको भन्दै गृह प्रशासनको आलोचना भएको थियो ।
प्रहरीकै उपस्थितिमा शंकरदेव, सरस्वती, पब्लिक युथ, सानोठिमीलगायत क्याम्पसका स्ववियु अध्यक्ष, सचिवलगायतका समूहले तोडफोड गरेको थियो । घटनाको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ । तोडफोडमा संलग्नहरूले हस्ताक्षरसहित विज्ञप्ति टाँसेर तालाबन्दी गरेका थिए । कीर्तिपुर प्रहरी भने किटानी जाहेरीको अभावमा दोषीहरूको पहिचान हुन नसकेको भन्दै अनुसन्धान र कारबाहीबाट पन्छँदै आएको थियो । प्रहरी निरीक्षक धर्मेन्द्र अकौलियाले नाम, थर, वतन खुलाई किटानी जाहेरी दिन जेठ २० गते त्रिविलाई पत्राचार गरेका थिए ।
तोडफोडमा शंकरदेव क्याम्पसका कुँवरसहित स्ववियु सचिव मदनराज उपाध्याय, सहसचिव भुवन ओझा, गजेन्द्र बम, सविन भट्ट, सोनु साह, किशोर थापा र भोजराज भनिने नेविसंघका कार्यकर्ता संलग्न रहेको त्रिविले जनाएको छ । त्यस्तै पब्लिक युथ क्याम्पस स्ववियु अध्यक्ष सन्तोष श्रेष्ठ, सरस्वती क्याम्पसका स्ववियु अध्यक्ष मुस्कानराज गौतम, भक्तपुर क्याम्पसका स्ववियु अध्यक्ष पुकार पराजुली तोडफोडमा संलग्न थिए । पराजुलीबाहेक अन्य २०७९ मा भएको स्ववियु निर्वाचनमा निर्वाचित पदाधिकारी हुन् ।
कैलाशकुट बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष मुरारी गौतम, सानोठिमी क्याम्पसका कार्कीसहित राजेश तिमिल्सिना, कान्तिपुर कलेजका अंशु फुयाल, काभ्रे बहुमुखी क्याम्पसका रोहित पराजुली पनि उपकुलपति कार्यालय तोडफोडमा संलग्न रहेको त्रिविले जनाएको छ ।
उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा भिडियो राख्दै तोडफोडको जिम्मेवारीसमेत लिएका छन् । उक्त समूहले उपकुलपतिलाई भेट्न जाँदा प्रहरीले बल प्रयोग गर्दा क्षति पुगेको दाबी गरेको छ । गत फागुनमा पनि विद्यार्थीको एक समूहले रेक्टर कार्यालयमा तोडफोड गरे पनि गृह प्रशासनले बेवास्ता गर्दा कारबाही हुन सकेको छैन ।
