अखिलको अध्यक्षका लागि कडरिया र पौडेलबीच प्रतिस्पर्धा

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

Competition between Kadaria and Paudel for the chairmanship of Akhil

काठमाडौँ — एमाले भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्वका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि दुई प्यानलको उम्मेदवारी परेको छ । सुजन कडरिया र प्रकाश पौडेलले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपाध्यक्षमा कडरिया प्यानलबाट अन्जना सिवाकोटी र पौडेल पक्षबाट विकास श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

अन्य उपाध्यक्षहरुमा राजकुमार ढकाल, भरतसिंह धामी, धमेन्द्र केसी र गणेशबहादु शाही, महिला उपाध्यक्षमा सुजिता धिताल, भवानी बजगाईँ र आरती भट्टराई पनि उम्मेदवार भएका छन् । 

महासचिव पदमा दीपक धामी र आरके रोमशको उम्मेदवारी परेको छ । कडरिया पक्षबाट धामी र पौडेल पक्षबाट रोमशले उम्मेदवारी दिएका छन् । सुनिल कँडेल पनि महासचिवका उम्मेदवार छन् ।

उपमहासचिवको उम्मेदवारमा प्रेमिका शाही, कमल जोशी र अमरबहादुर शाही उम्मेदवार छन् । सचिवमा रेखा न्यौपाने, रक्षा बम, आकाश घर्तीमगर र रेखा थापा उम्मेदवार छन् ।

एमालेले अखिलमा ३२ वर्षे उमेर हद लगाएपछि सुरु भएको राष्ट्रिय सम्मेलनमा युवाहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।

अखिलको १५१ सदसीय केन्द्रीय समितिमा ९ पदाधिकारी हुनेछन् । अखिलको नेतृत्वका लागि सर्वसम्मत चयन गर्ने प्रयास गरेको छ । केन्द्रीय समिति र अयोगसहित पाँच सयभन्दा बढी उम्मेदवार भएका छन् ।

एमामाले केन्द्रीय सचिवालयको १२ जेठमा बसेको बैठकले अखिलमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको थियो । अध्यक्ष ओलीले अखिलमा ३२ वर्षे उमेर हद निर्णय सुनाएका थिए ।

उमेर हदलका कारण उपाध्यक्षहरु नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी, महासचिव नरेश रोकाय प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

सचिवालय सदस्यमा बिहानी पंगेनी निर्विरोध

अन्य नेतृत्वका लागि निर्वाचनको तयारी भए पनि अखिलको विश्वविद्यालय महिला क्लस्टरमा बिहानी पंगेनी निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष समिक बडालले जानकारी दिए । उनी लोकगायक बद्री पंगेनीको छोरी हुन् ।

कान्तिपुर

Link copied successfully