गोली चलाएर नियन्त्रणमा लिइएका लागुऔषध कारोबारी को हुन् ?

आफूहरुमाथि रड प्रहार गर्न लागेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको प्रहरीको भनाइ

जेष्ठ २७, २०८२

विवेक पोख्रेल

Who is the drug dealer who was arrested after shooting?

काठमाडौँ — गोली चलाएर नेपाल प्रहरीले भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । मंगलबार लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले भारत पठाना दानापुरका २० वर्षीय सुमित कुमार, २५ वर्षका चन्दनकुमार जैसवाल, पश्चिम बंगाल इस्लामपुरका ४० वर्षीय साशिक आलम र गुन्जरिया बिहारका २२ वर्षीय मोहमद मन्जुर आलमलाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनुपर्‍यो ।

‘काठमाडौं उपत्यकामा लामो समयदेखि लागुऔषध खैरो हेरोइनको खरिद बिक्री तथा ओसारपसारको कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई खोजतलास गरिरहेका थियौं,’ ब्युरोका सूचना अधिकारी एसपी जनकबहादुर शाहीले भने, ‘दिउँसो १ बजे काठमाडौं महानगरपालिका-११, सुन्धाराबाट सुमित कुमार र चन्दनकुमार जैसवाललाई नियन्त्रणमा लिएका थियौं । उनीहरुको सूचनाका आधारमा साशिक आलम र मोहमद मन्जुर आलमलाई टोखाको ग्राण्डी अस्पताल पछाडिबाट नियन्त्रणमा लिएका हौं ।’

साशिक आलम र मोहमद मन्जुर आलमलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै फलामको रडसहित आक्रमणमा उत्रिएपछि प्रहरीले गोली प्रहार गरेको एसपी शाहीले बताए । मन्जुर आलमको बायाँ खुट्टामा २ राउन्ड र साशिक आलमको बायाँ खुट्टामा १ राउन्ड गोली लागेको छ । उनीहरुको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार हुँदै छ । अरु दुईजना भने अनुसन्धानका लागि ब्युरोको नियन्त्रणमा छन् ।

एसपी शाहीका अनुसार लागुऔषध कारोबारीको आक्रमणबाट प्रहरी वरिष्ठ हवलदार नवराज घिसिङको बायाँ घुँडा र प्रहरी सहायक हवल्दार रवीन्द्र केसीको दायाँ पाखुरामा चोट लागेको छ । ‘हामीले सुरुमा चार राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिन खोजेका थियौं,’ शाहीले भने, ‘नियन्त्रणका लागि ५ जनाको प्रहरी टोली थियो । प्रहरीमाथि नै जाई लागेपछि प्रहरीले ३ राउन्ड गोली प्रहार गर्नुपर्‍यो । ’

प्रहरीले उनीहरुलाई स्पिकरभित्र लुकाइछिपाइ राखेको अवस्थामा दुई सय ग्राम खैरो हेरोइन फेला पारेको जनाएको छ।

नियन्त्रणमा रहेकाहरुले एक वर्षदेखि नेपालमा लागुऔषधको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘हामीले ४ जना मात्र नियन्त्रणमा लिए पनि उनीहरु धेरै संख्यामा छन् । हामीले सूची नै बनाएर खोजी गरिरहेका छौं,’ शाहीले भने, ‘उनीहरु भारत-नेपाल सहज रुपमा आउजाउ गरेर कारोबार गर्ने गरेको भेटिएको छ । भारतबाट लागुऔषध ल्याउने र यहाँ बिक्री गर्ने गरेको बुझिएको छ ।’  

ब्युरोले यस विषयमा थप अनुसन्धान गरेर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत मुद्दा चलाउने बताएको छ । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully