अब पूर्वराष्ट्रपति भण्डारी एमालेभित्र पुनः औपचारिक राजनीतिक भूमिकामा फर्किने संकेत प्रस्ट देखिएको छ । के उनी एमालेभित्र वैकल्पिक शक्ति निर्माण गर्ने रणनीतिमा छिन् ? वा केपी ओली नेतृत्वसँग समन्वय गर्दै पुनः एमालेभित्रै प्रभावशाली भूमिकामा फर्किन चाहन्छिन् ?
विराटनगर — दुई कार्यकालसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी विद्यादेवी भण्डारी २०७९ सालपछि त्यो उच्च ओहोदाबाट बिदा भइन् । तर, राष्ट्रपतिको कार्यकालपछि उनी चुपचापचाहिँ बसेकी छैनन् । बरु अझ सक्रिय देखिएकी छन् । उनको पछिल्लो सक्रियताले पुनः राजनीतिमा फर्किने संकेत स्पष्ट गरेको छ । उनको राजनीतिक पुनरागमनको हल्लाले पार्टीभित्र र बाहिर तरंग पैदा गरिरहेको छ ।
चीन भ्रमणबाट फर्किएलगत्तै पूर्वराष्ट्रपति भण्डारी कोशी प्रदेशको विराटनगर ओर्लिइन् । उनी ११ जेठमा चीन भ्रमणमा गएकी थिइन् । पछिल्लो चार महिनामा यो उनको दोस्रो विराटनगर यात्रा हो । यसअघि १४ माघमा विराटनगर आएका बेला मोरङमै केन्द्रित रहेकी भण्डारी यसपटक भने मावा खोला तरेर झापासम्म पुगिन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेकै ब्यानरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि बनिन् ।
भण्डारीको यसपटकको भ्रमणको ‘राडार’ अलि फराकिलो छ । उनले २३ जेठमा विराटनगरमा उपमेयर/उपाध्यक्षहरूको राष्ट्रिय भेलामा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउनु र त्यसको भोलिपल्ट झापामा एमालेकै आधिकारिक ब्यानरमा प्रमुख अतिथि बन्नु महत्त्वका साथ हेरिएको छ । एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा देखा परेपछि एमालेभित्र उनको सक्रिय पुनरागमनको अड्कलबाजीलाई झन् बल मिलेको छ ।
झापामा दुई दिन रहँदा बस्दा उनले ओली निकट नेता र कार्यकर्ताहरूलाई प्राथमिकताका साथ भेटेकी थिइन् । अघिल्लो पटक मोरङमा पनि उनले ओलीसँग असन्तुष्ट नेता कार्यकर्ताको साथ लिएकी थिइन् ।
भण्डारीको यो सक्रियतालाई ओली नेतृत्वविरुद्धको सम्भावित गुटगत सक्रियताको सुरवाती संकेतका रूपमा बुझिएको छ । यसै सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै भण्डारीलाई इंगित गर्दै गुटबन्दी नगर्न कार्यकर्तालाई निर्देशन दिनु भनेको त्यसै प्रसंगको प्रतिक्रियात्मक स्वरूप हो ।
२४ जेठमा ओली मोरङको कटहरी गाउँपालिकामा एउटा सामुदायिक अस्पताल उद्घाटन गर्दै थिए । भण्डरी ओलीकै गृह जिल्लामा आयोजित एक समारोहमा प्रमुख अतिथि थिइन् । काठमाडौं फर्किएलगत्तै ओलीले भण्डारीलक्षित कडा अभिव्यक्ति दिएका थिए । उनले भण्डारीले गुटबन्दी गरेको आरोप मात्रै लगाएनन्, त्यसको पछि नलाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो-यस्तो । पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन,’ अध्यक्ष ओलीले भनेका थिए ।
ओलीको उक्त अभिव्यक्तिपछि ६ दिन लामो पूर्व भ्रमण सकेर काठमाडौं फर्किने क्रममा मंगलवार विराटनगर विमानस्थलमा भण्डारीले कार्यकर्तासँग भेट्न एमालेबाट अनुमति लिनु नपर्ने भनेर खुला रूपमा प्रतिक्रिया दिएकी छन् । उनले भनिन्,‘आफ्ना कार्यकर्तासँग भेट्न एमालेसँग इजाजत लिइराख्नु पर्छ र ?’ उनको यो प्रतिक्रियाले स्वतन्त्र राजनीतिक पोजिसन निर्माणमा उनी केन्द्रित रहेको संकेत गर्छ ।
भण्डारीको सक्रियता २ पुसमा पोखराबाट सुरु भएको हो । पोखरामा उनले कोशी प्रदेशमै जस्तै पाँच दिनसम्म स्थानीय एमाले नेताहरू र सामाजिक संस्थाका प्रतिनिधिसँग छलफल गरेकी थिइन् । त्यसपछि माघ १४ मा कोशी प्रदेशमा गरेको एक साता लामो भ्रमणले झन् राजनीतिक अर्थ बोकेको देखियो ।
कोशी भ्रमणबाट फर्किएलगत्तै मोरङमा भएको पार्टी निर्वाचनमा आफू निकट मानिएका उम्मेदवारको जित र त्यसमा उनको अप्रत्यक्ष प्रभाव देखिन सुरु भयो । विराटनगर महानगर कमिटी र विराटनगरकै मानगढ खानेपानी उपभोक्ता समिति निर्वाचनमा पनि ओली इतरका उम्मेद्धारले जित हासिल गरे । कोशी प्रदेशमा भण्डारीलाई एमालेका पुराना नेता विनोद ढकालको साथ रहेको छ । ढकाल विगतमा अध्यक्ष ओलीका निकै निकट मानिन्थे। तर प्रदेश सम्मेलनपछि उनी ओलीप्रति असन्तुष्ट बनेका थिए । सम्मेलनमा ओलीले ढकाललाई छोडेर माधव नेपाल निकटका घनश्याम खतिवडालाई प्रदेश अध्यक्ष बनाएका थिए । त्यसयता ढकाल र ओलीबीच दूरी बढेको मानिन्छ ।
कोशीबाट फर्किएपछि भण्डारी ५ फागुनमा थाइल्यान्ड भ्रमणमा निस्किइन् । थाइल्यान्डबाट फर्किएपश्चात काठमाडौंमा केपी ओलीको पुस्तक लोकार्पण कार्यक्रममा सहभागी हुँदै उनले ओलीको मुक्तकण्ठले प्रशंसा गर्न पनि भ्याइन् । भण्डारीको यो अर्को महत्त्वपूर्ण 'चाल' थियो । यसले उनलाई ओलीसँग पूर्ण टकरावभन्दा पनि एमालेभित्र फरक किसिमको भूमिका निर्माणको खोजीमा रहेको देखाउँछ ।
तर जेठ २४ को झापाको कार्यक्रम पहिलोपटक पार्टी ब्यानरमा प्रमुख अतिथि बन्नुले भने अब उनी एमालेभित्र पुनः औपचारिक राजनीतिक भूमिकामा फर्किने संकेत प्रस्ट देखिएको छ । के भण्डारी एमालेभित्र वैकल्पिक शक्ति निर्माण गर्ने रणनीतिमा छिन् ? वा केपी ओली नेतृत्वसँग समन्वय गर्दै पुनः एमालेभित्रै प्रभावशाली भूमिकामा फर्किन चाहन्छिन् ?
अहिलेसम्मका उनका गतिविधिहरू नियाल्दा दुवै सम्भावनाको ढोका खुला राखेर अगाडि बढेको देखिन्छ । ओलीको सार्वजनिक आक्रोश र भण्डारीको प्रतिक्रिया हेर्दा दुईबीच सहज सहकार्य छ भनिहाल्न सकिँदैन । तर, एमालेमा पछिल्लो समय स्थायी कमिटी र कार्यकर्ता तहसम्म असन्तुष्टि बढेको सन्दर्भमा भण्डारी एउटा वैकल्पिक शक्ति वा केन्द्र बन्ने तयारीमा रहेकोचाहिँ प्रस्ट हुन्छ ।
ओलीनिकट झापाका एक जना एमाले नेता राष्ट्रपति भइसकेको व्यक्ति संसदीय राजनीतिमा आउने सम्भावना ज्यादै न्यून रहेको बताउँछन् । ‘तर, सार्वजनिक जिम्मेवारीमा नआउने गरी पार्टी चलाउने गरी आउन सक्ने सम्भावनाचाहिँ जीवितै छ’, ती नेताले भने, ‘तर, अध्यक्ष ओलीले नचाहुन्जेलसम्म त्यो प्रायः असम्भव नै देखिन्छ ।’
