बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

जेष्ठ २७, २०८२

रासस

Chance of light rain from Wednesday, temperature will also drop

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेकाले तापक्रम पनि घट्ने जनाएको छ । केही समययता वर्षा हुन नसक्दा उपत्यका, तराई—मधेसलगायत अधिकांश स्थानमा तापक्रम पनि बढेको माहाशाखाले जानकारी दिएको छ । 

महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिए। 'मनसुनी हावा सक्रिय हुन नसकेका कारण नेपालको पूर्वी क्षेत्रमा भित्रिएको मनसुन देशभर फैलिन समय लागिरहेको छ । हाल वर्षा नहुँदा गर्मी पनि बढेको छ, तर आज कोशी, बागमती तथा लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको छ', उनले भने, 'बुधबारदेखि भने उपत्यकालगायतका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । बादल पनि लाग्ने हुँदा बुधबारदेखि विस्तारै तापक्रम घट्ने छ ।'

मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको छ भने भैरहवा, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ । यसैगरी, आज दिपायलको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । सिमरा, जनकपुर, बिराटनगरको अधिकतम तापक्रम भने ३८ डिग्री सेल्सियससम्म पुगेको छ । 

महाशाखाले बुधबार बिहानसम्मको मौसम पूर्वानुमान गर्दै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न जनाएको छ । यसैले सम्भावित जोखिम तथा असरबाट बच्न आवश्यक तयारी र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रासस

Link copied successfully