पक्राउ परेका दिक्पाल कार्की सानोठिमी क्याम्पसका नेविसंघका कार्यकर्ता हुन्
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय तोडफोडमा संलग्न एक जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले भक्तपुरको सानोठिमीबाट दिक्पाल कार्कीलाई पक्राउ गरिएको जनाए ।
‘एउटा समूहले तोडफोड गरेको उजुरी परेको थियो । भक्तपुरबाट समातेर ल्याएका छौं । अब मुद्दाको प्रक्रिया अघि बढ्छ । म्याद थप गर्ने तयारीमा छौं,’ एसपी बोहराले भने ।
सत्तारुढ कांग्रेसनिकट नेविसंघका निर्वाचित स्ववियु सभापतिलगायत पदाधिकारीले जेठ १४ गते उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका थिए । त्रिवि कार्यकारी परिषद्ले सार्वजनिक सम्पत्ति तोडफोड गर क्षति गर्नेलाई कारबाही गर्न प्रहरी वृत्त कीर्तिपुरमा उजुरी दिएको थियो । तर वृत्तले किटानी जाहेरी आवश्यक पर्ने भन्दै त्रिविलाई पत्राचार गरेको थियो ।
सत्तारुढ दलका विद्यार्थीहरू तोडफोडमा संलग्न रहेकाले कारबाही नभएको भन्दै गृह प्रशासनको आलोचना भएको थियो । पक्राउ परेका कार्की सानोठिमी क्याम्पसका नेविसंघका कार्यकर्ता हुन् । शंकरदेव, सरस्वती, पब्लिक युथ, सानोठिमीलगायतका क्याम्पसका विद्यार्थी तोडफोडमा संलग्न रहेको पाइएको छ ।
