काठमाडौँ — काठमाडौंको टुँडिखेलमा जेठ ७ देखि सीप मेला चलिरहेको छ । जहाँ सीप सिक्ने युवादेखि पाका उमेरसम्मको आकर्षण रहेको छ । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘सीप मेला २०८२’ मा विभिन्न १० क्षेत्रका ३७ वटा पेसासँग सम्बन्धित तालिम भइरहेको छ । महानगरले रोजगारी र आय वृद्धि गर्ने गरी निःशुल्क रूपमा तालिम प्रदान गरेको यो सीप मेलामा भर्खरै कक्षा १२ को परीक्षा सकेका विद्यार्थीदेखि सबैको आकर्षण रहेको छ ।
काठमाडौं, सतुंगलका करण गहतराजले भर्खरै कक्षा १२ को परीक्षा दिएका हुन् । साइन्स लिएर पढेका करणले लाइट भेहिकल अटोमोबाइल क्षेत्रको लाइट भेहिकल मेकानिकसम्बन्धी तालिम लिइरहेका छन् । ‘पछि गएर यो आफैंलाई काम लाग्ने चिज हो,’ सीप मेलामा सहभागीको हुनुको कारण खुलाउँदै उनले भने, ‘यहाँ मैले आफूले चलाउने बाइक बिग्रीयो भने कसरी बनाउने, कुन पार्टसलाई के भन्दो रहेछ जान्ने अवसर पाउँदैछु ।’ परीक्षाको सकिएपछिको खाली समय सीपयुक्त तालिम लिन पाएकोमा १८ वर्षीय करण खुसी समेत छन् । साथै यस्तो तालिमले आफ्नो क्षमता पनि बढ्ने उनी सुनाउँछन् ।
मेलामा करणजस्ता भर्खरका विद्यालयको परीक्षा दिएर बसेका विद्यार्थी मात्र नभई ५० वर्ष उमेरभन्दा माथिकाहरू पनि सीप सिक्न आएका छन् । जसमध्येका हुन् ५७ वर्षीय राजकुमार अधिकारी । उनी कावासोती नवलपरासीका हुन् । उनले आर्ट एन्ड कल्चर क्षेत्रअन्तर्गत ज्योतिष तथा पूरोहित पेसाको तालिम लिइरहेका छन् । ‘बाहुन परियो । छरछिमेकमा कहिलेकाँकी पूजापाठको लागि बोलाउँछन्,’ उनले आफ्नो कुरा सुनाए, ‘तर मलाई राम्रोसँग आउँदैन । यो मेलामा पूरोहितसम्बन्धी पनि सीप सिकाइरहेको छ भन्ने थाह भएर आएको हुँ ।’ उनले कर्मकाण्ठ विधि, पूजाको विधिलगायत सिकिरहेको बताए । ‘अब अरु सिक्न सकिँदैन,’ आफ्नो बाध्यता सुनाउँदै उनले थप भने, ‘आफूले पहिलेदेखि अलिअलि गर्दै आएको काममा पोख्त हुन यहाँ आए ।’
गत वर्ष पनि रोजगार सञ्चालन भएको सीप मेलालाई महानगरले यसपालि पनि निरन्तरतार दिएको छ । स्वरोजगार र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ महानगरले सीप मेलालाई यसपटक पनि निरन्तर दिइएको सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झा बताउँछन् ।
सीप मेलामा महानगरले १८ देखि ५८ वर्ष उमेर समूहलाई सीपका लागि आह्वान गरेको हो । तर केही संख्यामा ५८ वर्षभन्दा माथिको समेतले अनुरोध गरेको आधारमा सीपमा सहभागी गराइएको झाले सुनाए । ‘अरुमा हामीले ५८ वर्षभन्दा उमेरमाथिकालाई सहभागी गराएका छैनौं,’ उनले भने, ‘तर यो ज्योतिष विधामा भने केही जनाले हामीलाई अनुरोध गर्नुभएको हुनाले ३/४ जनालाई सहभागी गराएका छौं ।’
महानगरले कन्स्ट्रक्सन, हस्पिटालिटी एन्ड सर्भिस, आईसीटी (इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी) एन्ड इलेक्ट्रोनिक्स, आर्ट एन्ड कल्चर, एग्रिकल्चर, गार्मेन्ट, अटोमोबाइल, मेकानिकल, इलेक्ट्रोनिक्स र स्पेसल अबिलिटि स्किल्स गरी १० क्षेत्रलाई समेटर सीप सञ्चालन गरिरहेको छ ।
आईसीटी क्षेत्रअन्तर्गत डिजिटल मार्केटिङसम्बन्धी तालिम लिइरहेकी लक्ष्मी गौतमले सीप मेलामा डिजिटल प्लेटफर्मको प्रयोगबारे धेरै कुरा सिक्न पाएको सुनाइन् । ‘मलाई पहिलेदेखि नै डिजिटल मार्केटिङ मै केही गर्न मन थियो,’ उनले भनिन्, ‘यहाँ मैले फेसबुक पेज बनाउने, त्यसलाई कसरी ब्रान्डिङ गर्ने, कसरी चलाउने यो कुरा जाने । जुन मलाई थाहा थिएन ।’ तालिमपछि पनि उनले डिजिटल मार्केटिङको करियरलाई अगाडी बढाउने योजना रहेको समेत सुनाइन् ।
यसैगरी मेलामा लाइट भेहिकलसम्बन्धी सीप सिकिरहेका सफल विष्ट पनि पढाई मात्र नभई सीप भए काम पाइने विश्वास गर्छन् । त्यसैले १२ को परीक्षा सकिएलगत्तै सीप मेलामा आएको उनले बताए । ‘अहिले पढेर मात्र हुँदैन,’ १८ वर्षीय सफल भन्छन्, ‘त्यसैले सीपयुक्त तालिम लिन नै म यहाँ आइपुगे ।’
सीप मेलामा ड्रोन पाइलट, साबर सेक्युरिटी, ए आईसम्बन्धी समेत तालिम सञ्चालनमा छन् । बाहिर हजारौं रूपैयाँ खर्चेर सिकिने यो सम्बन्धी तालिम महानगरले सञ्चालन गरेको सीप मेलामा निःशुल्क रूपमा सञ्चालन भएकाले धेरैको आकर्षण बढेको प्रशिक्षकहरू सुनाउँछन् ।
ड्रोन पाइलट्रिसम्बन्धी प्रशिक्षण गरिरहेका प्रशिक्षक मनिस शर्माले यो क्षेत्रमा राम्रो भविष्य रहेको सुनाउँछन् । ‘यसमा अवसर धेरै छन् । किनभने अहिले समय कहाँ पुगिसक्यो,’ उनले भने, ‘कही बाडी पहिरो गयो भने ड्रोनमार्फत हामीले राहत सामग्री पुर्याउन सक्छौं । कुनै ठाउँमा आगलागी भयो ड्रोनमार्फत आगो निभाउन प्रयोग गर्न सक्छौं ।’ यसैगरी ड्रोन पनि नयाँ प्रविधियुक्त आउन थालेको र यसको पाइट सम्बन्धी तालिम लिएर उडाउन सके यसैमार्फत आम्दानी गर्न सकिने उनको भनाई छ ।
‘तालिममा सहभागीले धेरै यसप्रति रुचि राख्नुभएको छ,’ उनले भने, ‘यहाँ हामीले तीन हप्ताको कोर्स गरेर सिकाईरहेका छौं । साथै यसको प्राटिक्ल पनि हामीले गर्छौ ।’
यसैगरी एआई एन्ड एप्लिकेसन प्रशिक्षक पुजन पन्तले अहिले एआई अर्थात कृत्रिम बौद्धिकतासम्बन्धी प्रयोग बढीरहेकाले यसबारे जान्न आवश्यक रहेको बताउँछन् । तालिमअघि एआईबारे सबैको सामान्य बुझाई थियो तर कक्षामा यसको आधारभूतदेखि लिएर यसको प्रयोगबारे प्रशिक्षण दिईएको उनले सुनाए । ‘अबको समयमा एआईको प्रयोगको बढ्दो छ । साथै जोखिम पनि उत्तिकै,’ उनले भने, ‘यो मानिसको सहयोगी हो तर यसको गलत प्रयोगले जोखिम ल्याउँछ । यसको सही प्रयोग र फाइदाको लागि यो सीप मेला उपयोगी छ ।’ पहिलो हप्ता एआईको बारेमा जानकारी दिइएको र त्यसपछि यसको एप्लिकेसन प्रयोगलाई लिएर तालिम दिइ रहेको उनले सुनाए ।
यस सीप मेलाका लागि ३५ सय भन्दा बढीले आवेदन दिएका थिए । तर सीमित क्षमताका कारणले महानगरले २५ सयभन्दा बढीलाई मात्र सीप मेलामा सहभागी गराएको छ । जेठ ७ देखि ३० दिनसम्म चल्ने सीप मेलामा निजी क्षेत्रले पनि सहकार्य गरेको छ भने राम्रो सीप सिकेकालाई रोजगारी समेत प्रदान गर्ने मेलाका संयोजक झाले बताए ।
