बुबाको खाजा पसलले पूरा भएको तीन छोराको इन्जिनियरिङ सपना
जनकपुरधाम — अध्ययन, अनुशासन, परिश्रम र इमान्दारिता २७ वर्षीय सुभाषकुमार साहको सफलताको सूत्र हो। उनले यो सूत्रलाई एकै वर्ष लोकसेवाका पाँच परीक्षामा उत्तीर्ण भएर पुष्टि गरेका छन्। धनुषाको मिथिला विहारी–३ मिथिलेश्वर मौवाहीका साह सानैदेखि पढाइलाई सबैभन्दा धेरै महत्त्व दिन्थे।
गाउँकै सामुदायिक विद्यालयबाट प्रमाणपत्र तहको पढाइ पूरा गरेका उनले इन्जिनियरिङ पढ्ने योजना बनाए। ‘गाउँमा धेरै जना इन्जिनियरिङ पढेको देखेपछि मलाई पनि रुचि बढेको थियो । कक्षा ८ मै हुँदा सपना बुनेको थिएँ,’ उनी भन्छन्,‘घर–परिवारले पनि सहयोग गर्यो। एसएलसीमा प्रथम श्रेणी आएका कारण मलाई त्यसपछिको पढाइलाई अघि बढाउन हौसला मिल्यो।'
विराटनगरको मनमोहन मिमोरियल पोलिटेक्निकबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरेका सुभाषले काठमाडौँ सिटी कलेजबाट ब्याचलर इन सिभिल इन्जिनियरिङ गरे । कोरोनाका कारण कोर्स एक वर्ष ढिलो सकिएको थियो। २०७८ मा उनले एकेडमिक पढाई नै पूरा गरे । त्यसपछि उनी लोकसेवाको तयारीमा केन्द्रीत भए।
२०८१ मा उनले १० ठाउँमा सरकारी जागिरको लागि परीक्षा दिँदा पाँच ठाउँमा नाम निकाल्न सफल भएका छन्। ‘तयारी पनि थियो । विश्वास पनि थियो,’ उनले भने,‘त्यसकारण थाहा भएको सबै परीक्षामा सहभागी भएँ।’ साहले २०८१ असार १३ गते नेपाल प्रहरीमा प्राविधिक प्रहरी नायब निरीक्षक पदमा नाम निकाल्न सफल भए। जसको परीक्षा २०८० चैत्र १२ गते लिइएको थियो ।
उनले कोसी प्रदेश प्रहरी कार्यालयबाट जागिरको सुरुवात गरे। त्यसअघि उनले २०८१ बैशाख २९ गते गण्डकी प्रदेशको लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सहभागी थिए । चौथो तह असिस्टेन्ट सहायक इन्जिनियर पदमा २०८१ साउन १२ गते नतिजा प्रकाशन हुँदा उनी त्यसमा पनि सफल भए ।
२०८१ असार १८ गते नेपाल नागरिक उड्डयन प्राधिकरणमा सहायक सिभिल इन्जिनियर पाँचौँ तहको परीक्षा दिए । उक्त परीक्षामा पनि वरिष्ठ सहायक पदमा पास भए । २०८१ साउन २४ गते गण्डकी प्रदेश लोकसेवा आयोगको पाँचौँ तहमा सहायक उप–इन्जिनियर पदमा नाम निकाले । लोकसेवा आयोग पोखराले २०८१ जेठ ५ गते लिएको सहायक इन्जिनियर पदमा सोही वर्षको कात्तिक २५ गते नतिजा प्रकाशन हुँदा पनि उनी सफल भए ।
सुभाष अहिले कोसी प्रदेश प्रहरी कार्यालयमै कार्यरत छन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणमा सहायक सिभिल इन्जिनियर पाँचौँ तहमा नाम निकालेका छन् । तथापि यहाँबाट सिफारिस नआएको हुनाले सब–इन्स्पेक्टरकै पदमा कोसी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । ‘अहिले सिफारिस आएको छैन । राम्रो अफर आयो भने जान्छु,’ उनले भने, ‘अहिले जाने/नजाने निर्णय गरिसकेको छैन ।’ दुवै ठाउँमा पाँचौँ तह नै भएको हुनाले अन्योलमा रहेको उनले बताए ।
सुभाष तीन दाजुभाइ छन् । दाइ चन्दनकुमार साह पनि इन्जिनियरिङ सकाएर प्राइभेट कम्पनीमा जागिरसँगै लोकसेवाकै तयारी गरिरहेका छन् । भाइ गोविन्दकुमार साह डिप्लोमा इन सिभिल ओभरसियर गरेर जागिरसँगै थप पढाइको लागि जापानमा छन् । उनको आमा राजोदेवी साह घर गृहिणी छिन् भने बुबा रामसागर साह गाउँमै ‘हलुवाई’ (खाना पकाउने) काम गर्दै आएका छन् ।
रामसागरले नास्ता पसल सञ्चालन गरेर तीनै छोरालाई पढाएको बताए । ‘छोराहरूको प्रगति देखेर खुसी छु । सन्तुष्टि मिल्छ,’ उनले भने,‘विगतको मेहनत र लगानीको फल पाएको जस्तो अनुभूति हुन्छ ।’ रामसागरको अनुसार नास्ता पसल सञ्चालन गर्नु अघिसम्म घरमा आर्थिक संकट थियो ।
नियमित आम्दानी नआएपछि घर खर्चको लागि पनि समस्या हुन्थ्यो । जसले छोराहरूको पढाई पनि प्रभावित हुन सक्ने हुनाले उनले नियमित आम्दानी गर्न चियासहितको नास्ता पसल सञ्चालन गरेको बताए । ‘त्यति बेला तीनै छोरा गाउँमै सरकारी विद्यालयमा पढिरहेका थिए,’ उनले भने, ‘तर पनि किताब, कापी जस्ता खर्च लाग्थ्यो । त्यसकारण मैले नास्ता पसल सुरु गरे ।’
जेठो छोरा चन्दन र कान्छो छोरा गोविन्द पूर्ण छात्रवृत्तिमा पढेको उनले गर्वसाथ सुनाए । दुई वटा छोरा छात्रवृत्ति पाएरै पढेकाले पढाउन आर्थिक समस्या नभएको उनले बताए । छोरालाई पढाउन सानो घरमा बसिरहेको रामसागरले बताए । ‘तीन धुर जमिनमा मेरो घर छ,’ उनले भने, ‘दुई वटा रुम तल छ र दुई वटा माथि ।’ घर बनाउन, जग्गाजमिन जोड्नु भन्दा बढी महत्त्व शिक्षालाई दिएको उनले बताए । सोही कारण आफ्नो सपना र छोराहरू दक्ष भई सही ठाउँमा पुगेको उनले बताए ।
