अन्नपूर्ण संरक्षण क्षेत्रमा चोरी शिकारीले घट्दै डाँफे-मुनाल

कर्नेल जिम्मी रोबर्ट्सको पहलमा बनेको थियो ‘पिपर फेजेन्ट संक्चुअरी’ 

जेष्ठ २५, २०८२

दीपक परियार

Poaching in the Annapurna Conservation Area is decreasing

पोखरा — एसियामै पहिलोपल्ट ट्रेकिङ कम्पनी खोलेर नेपालका पदयात्रा मार्गलाई विश्वमाझ चिनाएका पूर्व गोर्खा सैनिक कर्णेल जिम्मी रोबर्ट्सले आफ्नो जीवनको उत्तरार्द्धमा भनेका थिए, ‘मेरो मृत्युपछि मेरो अस्तुलाई सेती गण्डकीमा सेलाइदिनु ।’ उनले ट्रेकिङ कम्पनी खोलेर नेपालका पदयात्रा मार्गको अन्वेषण मात्रै गरेनन्, सेतीको शिरमा डाँफे–मुनाल पाइँने भेगलाई पिपर संरक्षित क्षेत्र बनाउने परिकल्पना पनि गरे ।

भारतमा गोर्खा रेजिमेन्टबाट अवकास पाएपछि पोखरालाई आफ्नो कर्मथलो बनाएका उनले सन् १९६४ मा ट्रेकिङ कम्पनी ‘माउन्टे ट्राभल नेपाल’ खोलेका थिए । एक वर्षपछि उनले कम्पनी दर्ता गरे। अनि चाहारे पश्चिम नेपालका पाखा पखेरा। पहिलोपल्ट ब्रिटिस गोर्खा अधिकृतको रुपमा नेपाल आएका उनले बेलायतको संग्रहालयका लागि चरा संकलनको पनि काम गरे । 

पोखरामा सन् १९६० को सुरुआतमा आए । तल घाँसे मैदान, माथि अन्नपूर्ण र माछापुच्छ्रेको विचित्र रुपले उनलाई यतै अड्यायो । हाल चल्तीमा रहेका पश्चिम नेपालका पदयात्रा मार्ग अन्वेषणमा उनले भूमिका खेले । लमजुङबाट मनाङ हुँदै थोरोङ पास गरेर मुस्ताङबाट म्याग्दी निस्कने २१ दिनको ‘राउन्ड अन्नपूर्ण’ पदयात्रा मार्ग, वीरेठाँटी–घान्द्रुक–छोम्रोङ हुँदै पुगिने अन्नपूर्ण आधार शिविर, घोरेपानी–पुन हिल पदयात्रा मार्ग उनैले अन्वेषण गरेका हुन् ।  

Poaching in the Annapurna Conservation Area is decreasingराष्ट्रिय प्रकृति संरक्षण कोषले चोरी शिकारी नियन्त्रणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रमा जडान गर्न लागेको जासुसी (स्पाई) क्यामरा । तस्बिर : एनटीएनसी/एक्याप

सन् १९७६ मा पदमार्ग अन्वेषणकै क्रममा उनी हालको माछापुच्छ्रे गाउँपालिकामा पर्ने पिपर क्षेत्र पुगे । गाउँपालिकाको अन्तिम गाउँ करुवा–साँदल हुँदै पिपर लेक पुगिन्छ । उनीसँग सहयोगीका रुपमा झलक थापा पनि सँगै हुन्थे । उनी पिपर पुग्दा फेजेन्ट (कालिज) प्रजातिका चरा बासेको सुने । नेपालमा पाइने ८ प्रजातिका मध्ये ५ प्रजातिका कालिज एकै भेगमा देखे । रंगीचंगी डाँफे, मुनाल, फोक्रास, चिलिमे र कालिज देखेर उनको मन मोहित भयो । 

सन् १९७५ मा विश्वभरका कालिज संरक्षणमा काम गर्न बेलायतमा मुख्यालय रहने गरी वर्ल्ड फेजेन्ट एसोसियसन (डब्ल्युपीए) स्थापना भएको थियो । जिम्मी रोबर्ट्स र विश्व कालिज संघका पदाधिकारीबीच त्यसबेला सम्पर्क भयो । उनले पिपरबारे बेलिविस्तार लगाए । बेलायतमा पढ्दै गरेका एन्थोनी लेलियोटलाई अध्ययनका लागि नेपाल झिकाए । लेलियोट आएर पिपर र बागलुङको ढोरपाटन क्षेत्रमा कालिजको अध्ययन गरे । पछि डा.प्रल्हाद योञ्जन पनि जोडिए । 

Poaching in the Annapurna Conservation Area is decreasingपिपर क्षेत्रमा पासोमा परेको मुनालको उद्धार गर्दै बायोकोस नेपालका कर्मचारी । तस्बिर : बायोकोस नेपाल

जिम्मी तिनै व्यक्ति थिए, जसले माछापुच्छ्रेलाई ‘कुमारी हिमाल’ नै राख्नुपर्ने ‘लबिइङ’ त्यतिबेला सरकारसमक्ष गरेका थिए । सन् १९५७ मा उनकै कम्पनीबाट दुई बेलायती नागरिक कक्स र नोयस माछापुच्छ्रे आरोहणका लागि पुगेका थिए । त्यस वर्ष जुन २ मा उत्तरतर्फबाट आरोहण गर्न गएका उनीहरु समयअभावले चुचुरोबाटे ५० मिटर तलबाटै फर्किए । त्यसयता माछापुच्छ्रे आरोहणको प्रयास भएको छैन । 

सन् १९७९ मा विश्व कालिज संघको पहिलो अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा भयो । त्यसै वर्षदेखि पिपर क्षेत्रमा संघले कालिज गणना सुरु गर्‍यो । बसन्तयाममा गरिने यस्तो गणना भने सुरुमा मुनाल र फोक्रासको मात्रै गरिएको थियो । संघका प्रतिनिधिले चरा बासेको आवाज (कल काउन्ट) को आधारमा तथ्यांक राख्थे । पिपरको ४ वर्ष किलोमिटर क्षेत्रमा चार–पाँच वर्षको अन्तरालमा कालिज गणना हुन थाल्यो । समुद्री सतहबाट ३ हजार २ सय मिटर उचाइमा रहेको त्यस भेग ‘पिपर फेजेन्ट संक्च्युअरी’ को रुपमा चिनियो ।

सन् १९८३ मा बेलायतका अर्का अनुसन्धाताले पिपरमा रहेका वनस्पतीको पनि अध्ययन गरे । सन् १९९८ मा पर्यटन व्यवसायी एवं चरा अवलोकनकर्ता सुरेश शाक्य र भारतका नागरिक राहुल काउलले पहिलोपल्ट त्यस क्षेत्रमा पाइने फेजेन्ट प्रजातिको विस्तृत अध्ययन गरे । सन् २००१ मा चराविद् हेमसागर बरालले पिपर सानो क्षेत्र भएकोले ठुलो क्षेत्र समेट्न पिपरको पूर्वपट्टि नामसुङ खर्क (सान्तेल) मा पनि गणना गर्न वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थी लिएर गए । 

सन् २००५ मा पहिलोपल्ट नेपालीहरुले नै नेतृत्व गरेर पिपरमा कालिज गणना भयो । हालसम्म १५ पल्ट पिपर क्षेत्रमा कालिज गणना भइसकेको छ । पछिल्लोपल्ट कालिज गणनाको जिम्मा संरक्षणको क्षेत्रमा काम गरिरहेको संस्था जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपालले पाएको छ । हाल संस्थाको नेतृत्व लक्ष्मण पौड्यालले गरिरहेका छन् । पन्छी संरक्षण संघ (बीसीएन) का तत्कालीन पोखरा संयोजक पौड्याल सन् २००४ मा बेलायती टोलीसँग नेपाल कालिज गणना गर्न पिपर पुगेका थिए । उनले वन विज्ञानमा स्नातकको शोधपत्र पनि पिपरमा पाइने वनस्पतीको विषयमा तयार गरे ।

Poaching in the Annapurna Conservation Area is decreasingपिपर क्षेत्रमा कालिज मार्न शिकारीले थापेको पासो । तस्बिर : बायोकोस नेपाल

उनका अनुसार सन् १९८३ मै पिपरलाई संरक्षित क्षेत्र वा अनुसन्धान केन्द्र बनाउनुपर्ने प्रस्ताव सहित वन मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्ययोजना बुझाइएको थियो । त्यतिबेला अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा भइसकेको थिएन । सन् १९८६ मा मात्रै राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भयो ।

उनी विभागमा जागिरे भएर गएपछि उक्त कार्ययोजना खोजे पनि भेट्न सकेनन् । ‘विभागका तत्कालीन महानिर्देशक विश्वनाथ उप्रेति थिए । उहाँसगँ बुझ्दा कागजात फेला परेन,’ पौड्यालले भने, ‘पछि अन्य कर्मचारीसँग बुझ्दा पिपरलाई संरक्षित क्षेत्र वा अनुसन्धान केन्द्र बनाउनुपर्ने प्रस्ताव बुझाइएको रहेछ ।’ 

नेपालमा पाइने कालिजमध्ये राष्ट्रिय पंक्षी डाँफे, मुनाल र चीर संरक्षित पंक्षी हुन् । चीर उच्च हिमाली भेगमा पाइन्छ भने लुँइचे (वन कुखुरा) र मयुर समथर भूभागमा पाइन्छन् । पिपर क्षेत्रमा पाइने कालिज प्रजातिको चोरी शिकारी पहिलेदेखि नै व्यापक रहेको उनी बताउँछन् । लेकमा भेडिगोठ र भैंसीगोठ राख्ने पशुपालक, जडिबुटी संकलक र शिकारीले मासुका लागि कालिजलाई पासो थाप्ने, अण्डा ल्याएर खाने गर्दा पछिल्लो समय काजिल प्रजातिका चराको संख्या घट्दो रहेको उनले बताए । पछिल्लो समय उनी विभागको जागिर छोडेर बायोकोस नेपालको अध्यक्षको रुपमा कालिज संरक्षणमा सक्रिय छन् ।  

चोरी शिकारले घट्दो कालिज प्रजाति

यस वर्ष बायोकोस नेपालले विश्व कालिज संघको सहयोग र एक्यापसँगको सहकार्यमा डाँफे–मुनाल गणना गर्‍यो । अनुसन्धानकर्ता र सहयोगीसहित १९ जनाले दुई समूह बनाएर वैशाख ४ देखि १८ सम्म कालिज प्रजातिका डाँफे, मुनाल र फोक्रास र तित्रा प्रजातिको प्युरा गणना गरे । टोलीले यस वर्ष काजिल गणनाको क्षेत्र विस्तार गरिएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र भित्र माछापुच्छ्रे गाउँपालिकाको पिलिचो, पिपर, खुमै, कोर्चा, लुब्रुचु, चिचिम्ले, डाँफे चौर, हिले, ओदाने लगायतका वन क्षेत्रमा काजिल गणना गर्‍यो । 

पहिला मुनाल र फोक्रास मात्रै गणना हुने गरेकोमा यस वर्ष डाँफे र प्युराको पनि गणना थालिएको हो । त्यस क्षेत्रमा डाँफे १ सय ४६, मुनाल १ सय ४८, फोक्रास १९ र प्यूरा १ सय ७० को संख्यामा पाइएको छ । उक्त टोलीले त्यस क्षेत्रमा पंक्षी गणना पनि सँगै गरेको छ । यस वर्ष २ सय प्रजातिका पंक्षी त्यस भेगमा पाइएका छन् । सन् १९७९ मा गरिएको सर्भेक्षणयता ३ सय १४ प्रजातिका चरा पिपर–खुमै भेगमा भेटिएका छन् । जबकी पूरै अन्नपूर्ण संरक्षण क्षेत्रभित्र ५ सय १८ प्रजातिका पंक्षी पाइन्छन् । यो क्षेत्र विश्वभरका पंक्षी अवलोकनकर्ता र अनुसन्धानकर्ताका माझ पिपर संक्च्युअरी वा पिपर रिर्जभको रुपमा परिचित छ । 

Poaching in the Annapurna Conservation Area is decreasingपिपर क्षेत्रमा पासोमा परेको मुनालको उद्धार गर्दै बायोकोस नेपालका कर्मचारी ।  तस्बिर : बायोकोस नेपाल

पिपरमा मात्रै काजिलको संख्या भने घट्दो छ । सन् १९९३ मा पिपरमा ३१ वटा रहेको मुनाल यो वर्ष २० वटा मात्रै गणना भएको छ । सन् १९९७ मा ३० वटा भेटिएको फोक्रास यस वर्ष शून्यमा झरेको छ । डाँफेको संख्या पनि अपेक्षित नभएको बायोकोस नेपालका निर्देशक डा.पारसविक्रम सिंह बताउँछन् । अवैध व्यापारका लागि गरिने चोरी शिकारी नै कालिज संरक्षणको मुख्य चुनौती रहेको उनले बताए । 

पर्यावरणविद् सिंहका अनुसार डाँफे–मुनाल गर्मीयाममा खर्कमा बस्छन् । जाडोयाममा वन क्षेत्रमा झर्छन् । तल झर्ने याममा शिकारीले पासो थाप्छन् । शिकारीले कालिज प्रजाति आवतजावत गर्ने मार्गमा एक सयदेखि दुई सय मिटर लामो बार लगाएर बीचबीचमा गेटजस्तो पस्ने ठाउँ बनाउँछन् । त्यही खुला ठाउँबाट छिर्ने बेला कालिज पासोमा पर्छन् । त्यस्तो पासो पानीको मुहाननजिक बनाइन्छ । ‘डाँफे–मुनाल संरक्षणमा शिकारीको पासो संरक्षणकर्मीलाई गलपासो जस्तै भएको छ,’ उनी भन्छन् । 

चैतदेखि डाँफे खर्कमा गएर खुला क्षेत्रमा अण्डा कोरल्छ । बच्चालाई चिलले टिप्ने डर हुन्छ । बच्चालाई सुरक्षित बनाउन पुनः वनभित्र प्रवेश गर्छ । त्यतिबेला पनि पासो थापिन्छ । त्यस्तो पासो घाँटी र खुट्टामा पर्छ । भेडिगोठाला, भैंसी गोठाला, स्थानीयले मासुका लागि पासो थाप्छन् । शिकारीले पासोमा परेका डाँफे–मुनाल पोखरासम्म बिक्रीका लागि लैजान्छन् ।

कालिज अनुसन्धानका क्रममा उनले पिपरमा पासोमा पारिएका डाँफे–मुनाल धेरैपल्ट भेटेका छन् । उनको टोलीले पासोबाटै काजिलको उद्धार पनि गरेको छ । ‘अरु चराभन्दा डाँफेलाई शिकारीको खतरा बढी छ । यसलाई स्वादको लागि शिकार गर्ने प्रचलन छ,’ उनी भन्छन्, ‘अहिले व्यवसाय नै गर्न थालेर बढी खतरा भएको छ । डाँफे भएको क्षेत्रमा धेरै पासो भेटिनुले पनि यसको संख्या घट्दो रहेको भन्न सकिन्छ ।’ सगरमाथा र मनास्लु क्षेत्रमा धार्मिक हिसावले पनि हत्या नगरिने भएकोले डाँफे–मुनालको संख्या राम्रो रहेको उनले सुनाए । 

डाँफेको गणना पहिलोपल्ट गरे पनि उक्त संख्या सन्तोषजनक होइन । ‘एकपल्टमा १०–१५ वटा अण्डा पार्छ, त्यस हिसावले संख्या धेरै राम्रो हुनुपर्थ्यो,’ उनले भने, ‘चितुवा, स्याल, मलसाप्रो जस्ता जंगली जनावरको शिकार हुने र बच्चालाई चिलले लैजाने भएकोले पनि डाँफेमाथि दबाब छ।’  

गाउँबाट टाढा भएको र प्रहरी वा एक्यापका कर्मचारी पनि नपुग्ने भएकोले पिपर–खुमै क्षेत्रमा चोरी शिकारी बढेको छ । बायोकोसको क्यामरा ट्र्यापिङमा बन्दुक बोकेकै व्यक्ति भेटिए पनि कारवाही हुन नसकेको सिंहले सुनाए । डाँफेलाई राष्ट्रिय चरा भनिएपछि संरक्षणमा प्रशस्त प्रयास नभएकोमा उनको दुखेसो छ । यसअघि चराविद् डा.हेमसागर बरालले लाङटाङ क्षेत्रमा डाँफेमाथि अनुसन्धान गरेका थिए । तर देशव्यापी रुपमा हालसम्म कुनै अध्ययन भएको छैन ।

Poaching in the Annapurna Conservation Area is decreasingमाछापुच्छ्रे गाउँपालिकाको पिपर क्षेत्रमा भेटिएको मुनाल । तस्बिर :  एम ओट्टाभियानी/डब्ल्यूपीए

‘वन्यजन्तु विभागले संरक्षित जनावर, चराचुरुंगीको सूची बनाएको छ तर बाघ, गैंडामा बढी ध्यान केन्द्रित गरियो,’ पर्यावरणविद् सिंह भन्छन्, ‘नेपाल चिनाउने चरा र राष्ट्रिय पंक्षीलाई पनि चासो दिनुपर्छ । घटेपछि मात्रै होइन, नघट्दै पनि चासो दिनुपर्‍यो । यसले सधैं भरि चराको संख्या राम्रो अवस्थामा रहन्छ ।’ 

पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे पिपरमा नियमित बास्ने फोक्रासको आवाज यसपल्ट नसुनिनु कालिज संरक्षणका लागि चुनौती रहेको बताउँछन् । मर्दी हिमाल पदयात्रा मार्गमा यसअघि मुनाल भेटिने गरे पनि अहिले नदेखिएको उनले सुनाए । उनले भने, ‘कालिज प्रजाति घट्नुमा चोरी शिकारी प्रमुख कारण हो, सँगैसँगै वन डढेलो, डोजर आतंक पनि अर्को खतरा हुन् ।’ त्यस क्षेत्रमा पंक्षीको संख्या घट्दा चरा अवलोकनका लागि आउने विदेशी पर्यटकलाई देखाउन नसकिएको उनको अनुभव छ । 

कालिज संरक्षणका लागि सुरुआतदेखि नै विश्व कालिज संघले माछापुच्छ्रे गाउँपालिकामा संरक्षण शिक्षामा लगानी गर्दै आएको छ । एक्याप प्रमुख रविन कडरिया कालिजको संख्या बढ्नुपर्नेमा घटिरहनु चिन्ताको विषय भएको बताउँछन् । उनले अन्नपूर्ण संरक्षण क्षेत्रमा चोरी शिकारी लगायत गैरकानुनी गतिविधि नियन्त्रण गर्नु चुनौतीपूर्ण रहेको बताए । ‘एक्यापको पनि कृषि र वन संरक्षणमा बढि ध्यान गयो,’ कमजोरी स्वीकार्दै उनले भने, ‘वन्यजन्तु संरक्षण र चरा संरक्षणमा कम काम भएको छ ।’ 

बायोकोसले एक्यापसँगको सहकार्यमा पिपर क्षेत्रमा मोबाइलमा आधारित अनुगमन गरिरहेको छ । अनुगमनका लागि बायोकोसले एकजना कर्मचारी खटाएको छ । अनुगमनका क्रममा सन् २०२२ मा १८ वटा पासो नस्ट गरिएको थियो । गत वर्षदेखि निरन्तर रुपमा पासो हटाइएको र हालसम्म ३ सयभन्दा बढि पासो हटाइएको बायोकोसका निर्देशक सिंहले बताए । गत वैशाखबाट पिपर क्षेत्रमा ४० वटा क्यामरा ट्र्यापिङ राखिएको छ । ट्रेल क्यामराको पनि प्रयोग गरी चोरी शिकार नियन्त्रण गर्न निरन्तर लागिरहेको छ । 

Poaching in the Annapurna Conservation Area is decreasingपिपरमा अनुगमनका क्रममा पासोमा परेका मुनालको उद्धार गर्दै पर्यावरणविद् डा.पारसविक्रम सिंह (बाँया) ।

नेपालको कानून अनुसार संरक्षित पंक्षीको शिकार, ओसारपसार तथा व्यापार पूर्णरूपमा निषेध गरिएको छ । ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन’ अन्तर्गत दफा २६(४) ले संरक्षित पंक्षी मार्ने वा घाइते बनाउने कार्यलाई दण्डनीय अपराधको रूपमा लिएको छ । उक्त दफामा यस्ता कार्यमा संलग्न व्यक्तिलाई १५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनादेखि नौ महिनासम्म कैद वा दुबै सजाय हुन सक्ने प्रावधान छ । डाँफे, मुनाल र चीर साइटिसको सूचीमा समेत समावेश छन् । 

चोरी शिकार रोक्न जासुसी क्यामेरा

राष्ट्रिय प्रकृति संरक्षण कोषले अन्नपूर्ण संरक्षण क्षेत्रमा वन्यजन्तुको अवैध चोरीसिकार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्ने भएको छ । कोषले चोरीसिकार हुने सम्भावना रहेका स्थानहरूमा जासुसी क्यामेरा जडान गरी निगरानी गर्ने तयारी गरेको हो ।

एक्यापका प्रमुख रवि कडरियाका अनुसार कोषले पहिलो चरणमा १० स्थानमा यस्ता ‘स्पाइ क्यामेरा’ जडान गर्नेछ । त्यसपछि प्रभावकारिताका आधारमा क्रमशः ५० स्थानसम्म विस्तार गर्ने लक्ष्य लिएको छ । ‘संवेदनशील स्थानहरूमा क्यामेरा राखेर वन्यजन्तुको गतिविधि र सम्भावित अवैध क्रियाकलापको प्रत्यक्ष निगरानी गर्ने योजना हो,’ उनले भने, ‘यी क्यामेराले अवैध सिकारमा संलग्न हुने व्यक्तिको फोटो र भिडियो खिचेर तुरुन्तै कार्यालयमा पठाउनेछन्, जसले कारबाही प्रक्रिया सहज बनाउँछ ।’

उनका अनुसार कस्तूरी मृग, मुनाल, डाँफेजस्ता दुर्लभ वन्यजन्तु रहेका क्षेत्रलाई प्राथमिकता दिइनेछ । ‘पहिलोपल्ट हामी अन्नपूर्ण क्षेत्रमा यस्तो प्रविधि लागू गर्दैछौं । यसको सफलतापछि थप विस्तारको योजना छ,’ उनले भने । 

कोषले प्रयोग गर्न लागेका क्यामेरा सोलार प्यानलबाट चल्ने छन् । तिनीहरूमा सिमकार्ड जडान गरिएको हुन्छ । मोबाइल नेटवर्क (फोरजी) मार्फत तस्बिर तथा भिडियोहरू कार्यालयमा प्रत्यक्ष प्रसारण हुनेछ । ‘यो एकप्रकारको सीसी क्यामेरा हो, जसलाई कार्यालयबाटै २४ सै घण्टा हेर्न सकिन्छ,’ प्रविधिबारे कडरियाले भने, ‘क्यामेराबाट आएको प्रत्यक्ष दृश्यले चोरीसिकार रोकथाम र अनुगमनमा ठुलो मद्दत गर्छ ।’

क्यामेराको अर्को विशेषता सुरक्षा प्रणाली हो । यदि कसैले तिनलाई हटाउन खोजेमा वा क्षति पुर्‍याउन प्रयास गरेमा उक्त व्यक्तिको तस्बिरसहितको सूचना तुरुन्तै कार्यालयमा पुग्छ । यी सबै सूचना कोषको डेटाबेसमा सुरक्षित रहनेछन् र अन्यत्र पहुँच नहुने सुनिश्चित गरिएको छ । हाल प्रयोग गरिने क्यामेरा चीनबाट आयात गरिएको हो ।

अनलाइन प्रणाली भएकाले सूचना प्राप्त गर्न फिल्डमै जानुपर्दैन । यसअघि परम्परागत क्यामेरा ट्र्यापिङ गर्दा क्यामेरा राखिएको स्थलमै पुगेर ल्याएपछि मात्रै तथ्यांक उपलब्ध हुन्थ्यो । तर अनलाइन क्यामेराले घटनाको जानकारी तत्कालै इमेल वा एपमार्फत पठाउँछ ।

कोषले आगामी दिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिसमेत थप गर्ने योजना बनाएको छ । विशेष गतिविधि देखिनेबित्तिकै सूचना दिने, अलार्म बजाउने, स्वचालित पहिचान प्रणाली लागू गर्ने उद्देश्यले एआई जोड्ने तयारी भइरहेको छ । यस्तो प्रविधिले अन्नपूर्ण संरक्षण क्षेत्रमा वन्यजन्तु संरक्षणलाई थप प्रभावकारी बनाउने कोषको अपेक्षा छ । वन्यजन्तु चोरीसिकारजस्तो गम्भीर समस्या समाधान गर्न प्रविधिको प्रयोग आवश्यक भएको संरक्षणविद बताउँछन् । जासुसी क्यामेराको प्रयोगले चोरीसिकारमा संलग्नलाई निरुत्साहित गर्ने र सम्बन्धित निकायलाई आवश्यक कारबाही गर्न समयमै सूचना दिने अपेक्षा गरिएको छ ।

डाँफे देखाउन खुमै–पिपर

स्थानीयको समेत साथ लिएर पिपर क्षेत्रला डाँफे, मुनाल लगायतका विभिन्न प्रजातिका पंक्षीका अवलोकनका लागि नेपालकै मुख्य पर्यटकीय गन्तव्यस्थान बनाउने लक्ष्यका साथ कालिज गणना गरिएको बायोकोस नेपालका निर्देशक डा.पारसविक्रम सिंह बताउँछन् । ‘अहिले विद्यार्थीले पनि किताबमा मात्रै डाँफे हेर्छन् । तर डाँफे हेर्न खुमै–पिपर जानुपर्दो रहेछ भन्ने होस्,’ डाँफे–मुनालको अध्ययन अनुसन्धान गर्नुको कारणबारे उनले बताए ।  

Poaching in the Annapurna Conservation Area is decreasingमाछापुच्छ्रे गाउँपालिकाको पिपर क्षेत्रमा भेटिएको डाँफे । तस्बिर : जोन कोर्डर/डब्ल्यूपीए

चरा गणनामा नेपाल पंक्षीविद संघले पंक्षीविद् उपलब्ध गराएको थियो । संघका अध्यक्ष हठन महतो स्वयं पंक्षी गणनामा खटिएका थिए । पिपर क्षेत्र चरा अवलोकनका लागि उत्तम स्थान रहेको उनी बताउँछन् । ‘थोरै क्षेत्रमा पंक्षीको विविधता धेरै छ,’ उनी भन्छन्, ‘नेपालमा मात्रै पाइने काँडे भ्याकुरदेखि रंगीन र आकर्षक डाँफे–मुनाल हेर्न पर्यटक बोलाउन सकिन्छ ।’ 

बर्डलाइफ इन्टरनेस्नलका एसिया पार्टनरसिप म्यानेजर डा.हुम गुरुङ पिपर क्षेत्रले चरा अवलोकन पर्यटनमा अथाह सम्भावना बोकेको बताउँछन् । उनका अनुसार चरा अवलोकन गर्ने पर्यटकले सन् २०२३ मा ६२ अर्ब ७३ करोड डलर खर्च गरेको तथ्यांक छ । यो खर्च हरेक वर्ष ६.२ प्रतिशतले बढिरहेका छ ।

‘अरु पर्यटकले भन्दा पंक्षी अवलोकन गर्ने पर्यटकले तीन गुणा पनि पैसा र समय खर्च गर्छन्,’ उनले भने, ‘पर्यटकको बसाइँ अवधि लम्ब्याउन र स्थानीयको आम्दानी वृद्धि गर्न पनि चरा पर्यटनमा जोड दिनुपर्छ ।’ पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे भन्छन्, ‘चरालाई मारेर होइन देखाएर खानुपर्छ । भावी पुस्तालाई चरा देखाउन अहिलेदेखि संरक्षण गर्नुपर्छ ।’ 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully