ओली भन्छन् : एमालेमा ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो, ७४ चल्दैछु, ४ वर्ष घटाउन मिलेन !

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Oli says: The subject of 70 years age limit has been failed in UML, I am running for 74, I can't reduce it by 4 years!

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेरहदको फेल खाइसकेको विषय भएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औँ राष्ट्रिय महाधिवेशनको उद्‍घाटन गर्दै ओलीले पार्टी नेतृत्वमा उमेरभन्दा पनि स्वास्थ्य र कार्यक्षमता हेरिनुपर्ने बताएका हुन् । 

'७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर !,' ओलीले भने । 

कहिलेकाहीँ आवश्यकताले पनि नेतृत्व दोहोरिने ओलीको भनाइ थियो । चीनमा सी चिनफिङको उदाहरण दिँदै अध्यक्ष ओलीले भने, 'स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाइएको थियो । ६५ वर्षे उमेरहद लगाए पनि सी चिनफिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ल्यायो । अहिले ७२ पुगिसक्नु भयो- सी चिनफिङ ।'

२०८० जेठमा बसेको एमाले सचिवालय बैठकले पार्टीको कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेर हद हटाएको हो । उक्त बैठकले ‘कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने’ विधानको व्यवस्था निलम्बन गरेको थियो ।  एमालेको २०६५ सालमा बुटवल भएको आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुई पटक भन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनले ७० वर्ष प्रावधान ल्याएको थियो ।

बुटवल महाधिवेशनबाट मोदनाथ प्रश्रितले उमेर ढल्किँदै गएपछि कार्यकारी पदमा बस्न नहुने भन्दै अवकास लिएका थिए । त्यसैगरी भरतमोहन अधिकारी र सिद्धिलाल सिंह काठमाडौंमा भएको नवौं महाधिवेशनबाट पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग्गिएका थिए । दशौं महाधिवेशनमा सत्यनारायण मण्डल ७० वर्ष प्रावधानको कारण पार्टीबाट बाहिरिएका थिए ।

२०७८ साल असोजमा ललितपुरको गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशनले ७० वर्ष पुग्नुअघि निर्वाचित कार्यकारीको हकमा त्यस्तो व्यवस्था लागू हुने गरी व्याख्या गरेको थियो । अध्यक्ष ओलीलाई सहज हुने गरी सो व्यवस्था गरिएको थियो । त्यसै वर्षको मंसिरमा चितवनको सौराहा भएको एमाले दशौं महाधिवेशनले ओलीलाई अध्यक्षमा दोस्रो पटक निर्वाचित गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully