२०८४ मा हामीले बहुमत ल्याउँछौं, कांग्रेसले पनि त्यही भन्न पाउँछ : प्रधानमन्त्री ओली

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

We will bring majority in 2084, Congress can also say the same: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने पनि दोहोर्‍याए ।

'हाम्रा विरोधीहरुले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन् । हामीले हाम्रो लक्ष्य मिसन-२०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौँ । प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ,' अध्यक्ष ओलीले भने, 'हामी अहिले सँगै सरकारमा रहेर भोलि निर्वाचनमा आ–आफ्नो प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौ, त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ । यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन ।'

विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत संग्रहको घोषणा गर्न बाध्य बनाउने यही संगठन भएको र आफूहरूले नै देशमा साँच्चैको लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको ओलीको भनाइ छ । विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने बताउँदै उनले यस संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवारी संगठनका रुपमा रहन निर्देशन दिए । 

कान्तिपुर संवाददाता

Link copied successfully