विराटनगर — सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वमा भइरहेका कार्यक्रममा व्यस्त छन् ।
बिहीबार विराटनगर ओर्लिएकी भण्डारी सोही दिनदेखि मोरङका विभिन्न पार्टी कार्यकर्ता भेटघाट र कार्यक्रममा व्यस्त छिन् । शुक्रबार पालिकाका उपप्रमुख–उपाध्यक्षहरुको राष्ट्रिय भेलालाई विराटनगरमा उद्घाटन गरेकी भण्डारीले शनिबार झापा विर्तामोडको देवी माविमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरिन् । यो प्रदर्शनी एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको हो ।
ओली भने भण्डारीभन्दा दुई दिनपछि अर्थात् शनिबार विराटनगर ओर्लिए । उनी मोरङको कटहरी गाउँपालिका–२ मा निर्माण भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटनमा सहभागी हुँदै छन् ।
ओली–भण्डारीको पछिल्लो पूर्व–दौडाहाले एमालेभित्र र बाहिर पनि नयाँ राजनीतिक संकेतको चर्चा चल्न थालेको छ । दुवै नेताले आ–आफ्नो कार्यतालिकामा पूर्वका दुई जिल्लामा सक्रियता बढाएका छन् ।
भण्डारी झापा बसाइका क्रममा नारी सञ्चार गृहले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम तय भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किएको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा ‘म त सक्रिय नै छु, राजनीतिमा नै छु’ भनी जवाफ दिएकी थिइन् ।
उनको यो अभिव्यक्तिपछि एमालेभित्र र अन्य राजनीतिक वृत्तमा ‘भण्डारीको सक्रिय भूमिकाको संकेत’ भन्दै विभिन्न विश्लेषण भइरहेका छन् । यति बेला ओली नेतृत्वको पार्टीभित्र आगामी रणनीति, संगठन विस्तार र भावी चुनावी तयारीका सवालमा व्यापक छलफल चलिरहेको छ । यस्तो अवस्थामा ओली प्रदेश दौडाहामा सक्रिय छन् भने भण्डारी पनि सार्वजनिक कार्यक्रममा उपस्थिति बढाउँदै गइरहेकी छन् ।
एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली नेतृत्वले व्यापक दौडाहाको तयारी गरिरहेको छ । पूर्वराष्ट्रपतिज्यूको सक्रियता पनि हामी सकारात्मक रूपमा लिएका छौं ।’
ओली–भण्डारीको पूर्वतिरको सक्रियतालाई धेरैले आगामी संघीय र प्रदेश चुनावसँग समेत जोडेर हेरेका छन् । पार्टीभित्र केही नेता भने भण्डारीको सक्रियतालाई ‘सम्भवतः पार्टीभित्रको भविष्य भूमिकासँग पनि जोडिएको संकेत’ मानिरहेका छन् ।
पूर्वमै एमालेका महत्वपूर्ण आधार क्षेत्र भएकाले ओली र भण्डारी दुवैले पूर्वका जिल्लालाई प्राथमिकतामा राखेका छन् । विशेषगरी कोशी प्रदेशभित्र एमालेले पुनः संगठनात्मक बल जुटाउन खोजिरहेका बेला यी दुई नेताको समानान्तर सक्रियतालाई विश्लेषकले चासोपूर्वक हेरिरहेका छन् ।
‘भण्डारीलाई धेरैले भावी अध्यक्षको रुपमा हेर्न थालेको पाइएको छ,’ एक एमाले नेताले भने ।
सार्वजनिक रूपमा दुवैले आफ्नो यात्रा र कार्यक्रमलाई ‘नियमित’ भनेका छन् । तर पछिल्लो दुई दिनमा पूर्वमै एकले झापा र अर्कोले मोरङ रोजेर सक्रियता देखाउनु महत्वका साथ हेरिएको छ ।
