विराटनगर — नेपालको दोस्रो राष्ट्रिय राजमार्गका रूपमा चिनिने निर्माणाधीन हुलाकी सडक यति बेला मकैको बिस्कुनले पहेँलपुर बनेको छ। विराटनगरदेखि झापासम्मको कालो सडक मकैको बिस्कुनले पहेँलो तन्ना ओछ्याएको बिछ्यौनाजस्तो बनेको छ।
सडकमा ट्र्याक्टर रोकिएको छ। त्यहीँ थ्रेसर घन्किरहेको छ। अनि छेऊतिर मकैको बोरा र बिस्कुन ओछ्याइएका छन् । कृषकका लागि सडकमा मकै सुकाउनु बाध्यता बनेको छ। तर त्यही बाध्यताले सडक दुर्घटनाको जोखिम बढाएको छ।
मोरङको रंगेलीका कृषक मोहम्मद आलम भन्छन्, ‘गाउँमा सुकाउने खुला ठाउँ छैन । त्यही भएर सडकमा सुकाउनु हाम्रो बाध्यता हो ।’ उनका अनुसार हाल वर्षाको मौसम सुरु भइसकेकोले मकै ढिलो सुके कुहिने सम्भावना बढ्छ । ‘सडकमै थ्रेसर पनि राख्न बाध्य छौँ,’ उनले थपे, ‘हामीसँग अरू विकल्प छैन ।’
सडकमा सुकाइएको बिस्कुनका कारण दुर्घटनाको जोखिम दोब्बर बढेको स्थानीयवासीको भनाइ छ । बिस्कुनका कारण भएको दुर्घटना एक जना बालिकाको ज्यान भएको छ । आधा दर्जन जति घाइते भएका छन् । गत जेठ ५ गते रंगेली ७ निचामारीमा एक १३ वर्षीया बालिकाको सडकमा सुकाइएको बिस्कुनकै कारण दुर्घटनामा परी मृत्यु भएको थियो।
दुर्घटनाको कारण थियो, सडक ढाकेर सुकाइएको बिस्कुन। बिस्कुन छलेर ट्याक्टर अघि बढाउने क्रममा दुर्घटना भएर बालिकाको ज्यानै गएको थियो । गत हप्ता मात्र मोरङको सुनवर्षीमा दुई युवा बिस्कुनमा मोटरसाइकल चिप्लिएर घाइते भए। जहदा गाउँपालिकाका पूर्व प्रधानाध्यापक अजय सिंहको मोटरसाइकल बिस्कुनमा चिप्लिँदा उनको हात भाँचियो ।
पछिल्लो केही वर्षमा किसानले मकै खेतीमा लगानी बढाएका छन्। उत्पादन पनि राम्रो भएको छ । तर, मकै सुकाउने स्थान अभाव छ । जसका कारण उनीहरूले कालोपत्रे सडकलाई विस्कुन सुकाउने आँगन बनाएका छन् ।
बिस्कुनका कारण पटक पटक दुर्घटना बढेपछि रंगेली नगरपाकिाले सार्वजनिक सडकमा खाद्यान्न सुकाउन निषेध गर्ने सूचना जारी गरेको थियो । तर, किसानको विरोध थेग्न नसकेपछि उक्त निर्णय फिर्ता लिनु परेको थियो । ‘किसानहरूको असन्तुष्टि आएपछि सर्वदलीय सहमतिपछि नगरपालिकाले पुरानो निर्णय सच्याएको छ’, उपप्रमुख झुमाकुमारी पराजुलीले भनिन्, ‘राजमार्गको २० प्रतिशत क्षेत्रमा मात्र बिस्कुन सुकाउन पाइनेछ निर्णय भएको छ ।’
किसानहरूले वैकल्पिक स्थान नभएका कारण सडकमा बिस्कुन सुकाउन बाध्य भएको जनाउँदै आएका छन् । ‘सडक सार्वजनिक सम्पत्ति हो थाहा छ । तर राज्यले हामीलाई वैकल्पिक व्यवस्था नगर्दासम्म हामी सडकबाट बिस्कुन हटाउन सक्दैनौ’, सुनवर्षी नगरपालिकाका किसान मधुलाल गनगाईले भने ।
