नेपालमाथि राजनीतिक प्रतिशोध र षड्यन्त्र : एकीकृत समाजवादी

प्रमाण जुटाएर कानुनी रूपमा अघि बढ्ने र राजनीतिक रूपमा प्रतिवाद गर्ने पदाधिकारी बैठकको निर्णय 

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

Political Vengeance and Conspiracy against Nepal: Integrated Socialists

काठमाडौँ — एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा चलाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको बताएको छ । अख्तियारले बिहीबार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि बसेको सचिवालय बैठकले पार्टी र अध्यक्षमाथि राजनीतिक प्रतिशोध एवं षड्यन्त्र भएको उल्लेख गर्दै राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको इसारामा प्रतिशोध साधेको आरोप लगाएको छ । भदौ २०७८ मा एमाले विभाजन भई एकीकृत समाजवादी गठन भएको थियो । ‘अध्यक्षमाथि मुद्दा लगाउनु राजनीतिक प्रतिशोध लिँदै षड्यन्त्रमूलक प्रहार भएको हाम्रो निष्कर्ष छ,’ उपाध्यक्ष प्रकाश ज्वाला भन्छन्, ‘हामी यसलाई राजनीतिक रूपमा प्रतिवाद गर्छौं ।’

नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भइसकेकाले तथ्य प्रमाण जुटाएर कानुनी रूपमा अघि बढ्ने निर्णय पदाधिकारी बैठकले गरेको छ । उनले मन्त्रिपरिषद्का नीतिगत निर्णय हालसम्म अख्तियारको क्षेत्राधिकारमा नरहेको उल्लेख गर्दै नेपालमाथि मुद्दा लगाउनुमा सरकारको छाया अख्तियारमा परेको दाबी गरेका छन् । ‘सरकारको छाया अख्तियारमा परेको हुनाले यो राजनीतिक प्रतिशोध र षड्यन्त्र भयो,’ ज्वाला भन्छन् ।

बैठकपछि महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालमाथि मुद्दा दायर गर्नु षड्यन्त्रकै निरन्तरता भएको आरोप लगाएका छन् । ‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीविरुद्ध विगतदेखि नै षड्यन्त्र गर्दै आएको विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौं,’ उनले भनेका छन्, ‘यो हाम्राविरुद्ध षड्यन्त्रको अर्को घटना हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिनेछ ।’

मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि अख्तियारले अनुसन्धान गर्नु गम्भीर विषय भएको समाजवादीको भनाइ छ ।

 एकीकृतका नेता झलनाथ खनालले मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले हात हाल्नु गम्भीर विषय भएको बताए । ‘अहिलेसम्म मन्त्रिपरिषद्का निर्णयलाई अख्तियारले यसरी मुद्दा चलाएको थिएन,’ खनालले भने । वरिष्ठ उपाध्यक्ष एवं पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालमाथि राज्यले प्रतिशोध साधेको आरोप लगाएका छन् । ‘विगतमा भएका क्याबिनेट बैठकका निर्णय सबै भ्रष्टाचारजन्य केस बन्न सक्छन्, त्यसो हुनाले कोही पनि प्रधानमन्त्रीहरू बच्नेवाला छैनन् र अर्को कुरा कुनै पनि प्रधानमन्त्री वा क्याबिनेटले अब महत्त्वपूर्ण निर्णय गर्दैन,’ उनले भने ।

मुद्दा दायरपछि गृह जिल्ला रौतहटबाट काठमाडौं फर्केका पूर्वप्रधानमन्त्री नेपालले आफूमाथि लागेको मुद्दाबारे कानुनविद्सँग परामर्श गरेका थिए । उनले वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र गोविन्द बन्दीसँग परामर्श गरेका थिए ।

पतञ्जलिजस्तो संस्थामा यस्तो होला भन्ने कल्पना थिएन

Political Vengeance and Conspiracy against Nepal: Integrated Socialists- माधवकुमार नेपाल, अध्यक्ष, एकीकृत समाजवादी

पतञ्जलि जग्गा प्रकरणमा तपाईंमाथि भ्रष्टाचारको आरोप लाग्यो नि ? 

मैले कुनै किसिमको भ्रष्टाचार गरेको छैन, कसैसित अनुचित लाभ लिएको छैन । कुनै पनि मन्त्रीलाई अनुचित कार्य गर्न निर्देशन दिएको छैन । त्यसो गरेको भए प्रमाण पेस गरियोस् । जहाँसम्म पतञ्जलिजस्तो संस्थाको कुरा छ, स्वामी रामदेव र आचार्य बालकृष्णजस्ता व्यक्ति भएको ठाउँमा अनुचित काम त कसैले कल्पना पनि गर्न सक्दैन । मैले अनुचित हुने कुनै काम गरेको छैन । सबै कानुनले हेर्ने कुरा हो । 

एउटा टुक्रा पनि सरकारी जग्गा दिइएको छैन । हदबन्दीभन्दा माथिको कुरा भएको हो भने, उचित भएको छैन भने सबै जग्गा फिर्ता लिन सकिन्छ । त्यसैका आधारमा कुनै अपराध गरेको, नियत खराब भएको मान्न मिल्दैन । मन्त्रिपरिषद्बाट निर्णय भएको छ भने विभिन्न प्रक्रियाबाट सबै मन्त्रीले हेरेर त्यसलाई पास गरिएको होला, अघि बढाइएको होला । राष्ट्रलाई नोक्सानी हुने काम भएको छ/छैन मलाई थाहा छैन, त्यो भएको छ भने पनि त्यस्तो अनुचित कुरालाई छुट दिन सकिँदैन ।

अख्तियारले बयान लिँदा यो/त्यो कागज पुगेन भनेन र ?

मैले आफ्नोतर्फबाट कुनै बेठीक काम गरेको छैन । पतञ्जलिजस्तो संस्थामा यस्तो भएको होला भन्ने कल्पना पनि गरेको थिइनँ ।

यदि पूर्वाग्रही ढंगले मुद्दा दर्ता भएको हो भने फेरि ललिता निवास प्रकरण ब्युँतिन सक्ने सम्भावना कत्तिको छ ?

मैले बदमासी गरेको हुनुपर्‍यो नि । 

बदमासी नगर्दा पनि मुद्दा कसरी लाग्यो त ? 

अब हेरौं के हुन्छ ।

मैले कुनै अपराध गरेको छैन भन्नुहुन्छ ? अनि अख्तियारले के अभियोग लगाएर मुद्दा दर्ता गर्‍यो ? 

अब त्यो त के भएको हो, के छ, मलाई त्यति जानकारी छैन । म पनि कानुन व्यवसायीसित परामर्श गर्छु । कानुनमा के छ, त्यो बेला विभिन्न मन्त्रालयबाट के–के कागजपत्र आए, कसले के–के सिफारिस गरे, कसले लुपहोल्स राखे, त्यसमा ध्यान पुग्यो/पुगेन, यावत् कुरा नबुझी म केही भन्न सक्दिनँ । 

असल कामका लागि निर्णय गरेको भन्नुभयो, त्यसो भए यो मुद्दा पूर्वाग्रही ढंगबाट दर्ता भएको हो ?

म कसैलाई आरोप लगाउन चाहन्नँ । कुनै खराब नियतबाट भ्रष्टाचारका लागि आदेश दिने काम मबाट भएको छैन, हुँदैन पनि । यस्तो कुराको म विरोध गर्छु ।

तपाईंकै पार्टीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुद्दा दर्ता भएको भन्नुभएको छ, तपाईंको भनाइ के छ ?

यो त सिधा कुरा हो । मेरो राजनीतिक करियर समाप्त पार्न उहाँ (केपी शर्मा ओली) सुरुदेखि नै लाग्नुभएको हो । पटकपटक प्रयास गरेकै हो । उहाँ (ओली) बदलाको भावनाबाट चल्नुभएको छ । 

पतञ्जलिमा तपाईंमाथि मुद्दा चल्यो, गिरीबन्धु र शेरा दरबारको विषयमा तपाईंको धारणा के छ ?

अहिले केही बोले बदलाको भावनाले भन्छन् । आफूमाथि पर्दा यस्ता कुरा उठायो भन्छन् । हेरौं अब के हुन्छ । तर सबै हेर्ने न्यायालय छ । न्यायभन्दा ठूलो कुरा केही हुन सक्दैन । सत्यभन्दा ठूलो कुरा केही हुँदैन । नबिराउनु, नडराउनु भन्ने मान्यतामा म अडिग छु । 

अब तपाईंको सांसद पद निलम्बन भयो । पार्टी अध्यक्ष हुनुहुन्छ, आगामी यात्रा कस्तो हुन्छ ?

अब हेरौं । त्यसका निम्ति जे प्रक्रिया हुन्छ, म सामना गर्छु ।

कान्तिपुर

Link copied successfully