माधवजीको मुद्दाबारे देउवाजीले नै मलाई सोधेपछि आश्चर्यमा परेँ : दाहाल

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

I was surprised when Deubaji himself asked me about Madhavji's case: Dahal

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको मुद्दाबारे आफूलाई फोन गरेर सोधेको बताएका छन् ।

शुक्रबार संसद्‍ भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले सत्ता पक्षकै सबैभन्दा ठूलो दलका नेताले नै आफूलाई सोधेपछि छक्क परेको बताएका हुन् । 

'देउवाजीले हिजो फोन गर्नु भएको थियो । माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो त्यस विषयमा उहाँ आफैंले मलाई सोध्नुभयो- के भएको हो ? अब शेरबहादुरजीले मलाई सोध्ने भनेपछि त आश्चर्यमा परेँ म । सत्ता पक्षमा भएको सबैभन्दा ठूलो पार्टीको नेताले प्रतिपक्षको नेतालाई माधवजीको मुद्दा के भएको कसरी दर्ता भएको हो भनेपछि  मैले पो तपाईंलाई सोध्नुपर्ने त भनेँ । यसमा अलिअलि ठट्टाठट्टा पनि भयो,' उनले भने । 

अध्यक्ष दाहालले यस विषयमा देउवालाई पनि थाहा नभएको बुझिएको बताए । उनले अगाडि भने, 'यो मुद्दा दर्ता गर्ने बेलामा कांग्रेस सभापति शेरबहादुर देउवाजीसँग सल्लाह गरेर भएको रहेनछ भन्ने मलाई लाग्यो । देउवाजी झुटचाहिँ बोल्नुहुन्न । योचाहिँ प्रतिशोध साध्ने ढंगले नै सरकार गएको देखिन्छ ।'  नेपालमाथि अख्तियारले मुद्दा चलाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन् । शुक्रबार संसद्‍ भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले मुद्दा दर्ता भए पनि अदालतले सफाइ दिनेमा स्वयं नेपाल र आफू पनि विश्वस्त रहेको बताएका हुन् ।

पहिले मन्त्रिपरिषद्का निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर पन्छिएको अख्तियारको पछिल्लो कदमले प्रश्न पनि उब्जिएको दाहालले बताएका छन् । 'स्वयं माधवजी नै आश्चर्यमा परेको कुरा गर्नु भएको छ, उहाँले अदालतप्रति पनि भरोसा देखाउनु भएको छ । अदालतले न्याय गर्छ भन्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ । छिट्टै सफाइ पाएर फर्किन्छु भन्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ । मैले पनि उहाँले सफाइ पाउनुहुन्छ होला भन्ने विश्वास गरेको छु,' अध्यक्ष दाहालले भने ।

कान्तिपुर

Link copied successfully